काठमाडौं,२२ चैत्र । सिंगापुर एयरलाइन्सको सहायक कम्पनी सिल्क एयरले सिंगापुर-काठमाडौं-सिंगापुर रुटमा दैनिक उडान सुरु गरेको छ।
साताको छ दिन उडान भर्दै आएको सिल्क एयरले शनिवारमा समेत सेवा सुरु गरेको छ ।
सिल्कले थप उडान बोइङको ७३७-८०० एनजी बिमानबाट गर्नेछ। यो विमानमा १२ वटा बिजनेश क्लास तथा १ सय ५० वटा इकोनोमी क्लासको सिट उपलब्ध छ।
यात्रुहरुले विमानमा उडान अवधिमा खाना र सिल्क स्टुडियोबाट मनोरञ्जन सुविधा पाउनेछन्। त्यसैगरी यात्रुले सिल्क तथा सिंगापुर एयलाइन्सको सिंगापुर हुँदै उड्ने कनेक्टिङ फ्लाइटमा थप व्यागेज सुविधा पनि पाउनेछन्।
थपिएको एमआई ४१२ को उडान सिंगापुरको स्थानीय समयअनुसार बिहान ९ बजे उडान भर्नेछ भने काठमाडौं विमानस्थलमा स्थानीय समयअनुसार दिउँसो १२:०५ मिनेटमा अवतरण गर्नेछ। एमआई ४११ को उडान काठमाडौंबाट स्थानीय समयअनुसार दिउँसो १:०५ मा उडान भरेर सिंगापुरको स्थानीय समय साँझ ८:१५ मा सिंगापुरमा अवतरण गर्नेछ।
सिल्क एयरका नेपाल प्रबन्धक क्विन्ची चेनले साताका सबै दिन सेवा दिन पाएकोमा खुसी व्यक्त गर्दै नेपालबाट जाने यात्रुले अन्तराष्ट्रिय उडानमा फराकिलो पहुँच पाउने विश्वास व्यक्त गर्नुभएको छ।
सिल्कले सन् २००७ मा यो क्षेत्रमा उडान सुरु गरेको हो ।


















