काठमाडौं,२७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथाको उचाइ नाप्न जान लागेको कर्मचारीको टोलीलाई आज विदाइ गर्नुभएको छ ।
भूमि व्यवस्था तथा सहकारी मन्त्रालय अन्तरगतको नापी विभागका ४ जना प्राविधिक कर्मचारी आज त्यस तर्फ जादैहुनुहुन्छ ।
टोलीमा प्रमुख नापी अधिकृत खिमलाल गौतम,नापी अधिकृत रबिन कार्की,सर्भेक्षक सुरजसिंह भण्डारी र अमिन युवराज धिताल हुनुहुन्छ ।
टोलीले करिब एक महिनामा सगरमाथाको उचाइ नापेर फर्कने योजना छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान आयोजित शुभकामना तथा विदाइ कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपालको तर्फबाट पहिलो पटक सगरमाथाको उचाइ नाप्न लागिएकाले यस टोलीको प्रतिवदेन आधिकारिक हुने बताउनुभएको छ ।
“नेपाल सरकारको तर्फबाट पहिलो पटक सगरमाथाको उचाइ मापन हुदैछ । तपाईंहरुले सेन्टीमिटर सहितको उचाइ नापेर ल्याउनु होला ” प्रधानमन्त्री ओलीले भन्नुभयो “तपाईंहरुले ल्याएको नाप नै सगरमाथाको आधिकारिक उचाइ हुनेछ ।”
प्रधानमन्त्री ओलीले टोलीलाई लक्ष्य हासिल गर्नका लागि शुभकामना दिनुभएको छ । तर मौसम र स्वास्थ्यलाई भने ख्याल गर्न प्रधानमन्त्रीले सुझाउनु भएको छ । “लक्ष्यमा अडिग रहनुहोस तर स्वास्थ्यले साथ दिएन वा मौसम प्रतिकुल भयो भने जिद्धी नगर्नुहोस । सगरमाथा त्यही हुन्छ । अर्को पटक गएर नापेर आए हुन्छ” प्रधानमन्त्री ओलीले भन्नुभयो “गाइडको निर्देशन पालना गर्नुहोला ।”
सरकारको तर्फबाट सगरमाथाको उचाइ मापन कार्य ऐतिहासिक भएको प्रधानमन्त्री ओलीको भनाइ छ । विदाइ कार्यक्रममा मन्त्री पद्मा आर्याल पनि हुनुहुुन्थ्यो । सोही कार्यक्रममा मन्त्रालयका तर्फबाट प्रादेशिक विभाजन अनुसारको नेपालको प्रशासनिक नक्सा पनि प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरिएको छ ।
नेपालीले नाप्नु गौरवको विषय
नापी विभागका महानिर्देशक गणेशप्रसाद भट्टले विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाई मापनको सिलसिलामा सगरमाथाको आरोहणका लागि आफ्नै विभागका कर्मचारी प्रस्थान गर्नु निकै गौरवको क्षण भएको बताउनुभएको छ ।
उहाँलेसगरमाथा आरोही प्रथम नेपाली सर्भेयर खिमलाल गौतमको विगतको अनुभव सहितको नेतृत्वमा सर्भेयर साथीहरु विश्वको सर्वोच्च शिखर स्वदेशी प्राविधिकहरुद्धारा मापन गर्ने आफ्नोे सपना साकार पार्नमा ऐतिहासिक सफलता प्राप्त हुने विश्वास व्यक्त गर्नुभएको छ ।
उहाँले यो महान एवम् ऐतिहासिक कार्यको सफलताबाट नेपाली सर्भेयरहरुको साथै समस्त् नेपालीहरुलाई विश्वसामु गौरवको अनुभूति गर्ने अवसर प्राप्त हुने बताउनुभएको छ ।
सगरमाथाको मापन गर्न जाने टोलीले यस पहिले पर्वतारोहणको आधारभूत र एड्भान्स तालिम पनि गरिसकेको छ ।