क्वाललम्पुर(मलेसिया),२८ चैत्र । सन् २०२० को जनवरी फेब्रुवरीमा दक्षिण अफ्रिकामा आयोजना हुने अन्डर १९ एकदिवसीय विश्वकपमा सहभागी हुने राष्टिय टीमको छनौट अन्तर्गत ‘एसिया छनौट प्रतियोगिता’ अप्रिल १२ शुक्रबारदेखि मलेसियामा सुरु हुँदैछ।
नेपालसहित मलेसिया, कुवेत, ओमान, सिंगापुर र युनाइटेड अरब इमिरेट्स ( युएई ) सहभागी भएको छनोट प्रतियोगिता १२ देखि १८ अप्रिलसम्म चल्ने छ ।
प्रतियोगितामा सहभागिता जनाउन नेपाली युवा टीम रोहित पौडेलको कप्तानीमा अप्रिल ६ मा मलेसिया पुगिसकेको छ। १४ सदस्यीय नेपाली टीमलाई प्रशिक्षक बिनोद दासले अभ्यास गराईरहेका छन्।
संभावना बलियो
१९९८ देखि सुरु भएको यु-१९ विश्वकप प्रतियोगितामा नेपाल हालसम्म ७ पटक सहभागी भैसकेको छ।
सन् २००० मा श्रीलंकामा सम्पन्न यु-१९ विश्वकपमा सहभागी भएको नेपालले त्यसपछि सन् २००२ मा न्युजिल्याण्ड, सन् २००४ मा बंगलादेश, २००६ मा श्रीलंका, सन् २००८ मा मलेसिया, सन् २०१२ मा अस्ट्रेलिया र सन् २०१६ मा बंगलादेशमा भएका प्रतियोगितामा खेल्ने अवसर पायो।
२०१८ को यु-१९ विश्वकपमा भने नेपाल छनौट हुन सकेन। २०१७ मा सिंगापुरमा सम्पन्न यु १९ विश्वकप छनोट(एसिया) प्रतियोगितामा नेपाललाई पछि पार्दै अफगानिस्तान छनोट भएको थियो।
यु -१९ विश्वकपमा १६ राष्ट्रहरु सहभागी हुनेछन्। गत वर्ष यु -१९ विश्वकप खेलेका ११ टेस्ट राष्ट्रहरु २०२० विश्वकपको लागि छनौट भइसकेका छन्। बाँकी ५ वटा राष्ट्रको निर्क्योल ५ क्षेत्रमा हुने क्षेत्रीय छनौटबाट गरिदैछ। अफ्रिकाबाट नाइजेरिया छनौट भइसकेको छ भने अब एसिया, पूर्वी एशिया प्रशान्त, अमेरिका र युरोपमा हुने छनौट प्रतियोगिताबाट अन्य ५ टीम छानिदै छन्।
नेपालले एसिया छनौटमा अघिल्लो पटक तगारो तेस्र्याउने अफगानिस्तानको सामना गर्नुपर्ने छैन। आयोजक मलेसिया, युएई, कुवेत, ओमान र सिंगापुरसंग मात्र नेपालले प्रतिस्पर्धा गर्नेछ। सबै टीमले एकअर्का बिरुद्ध १/१ खेल खेल्नेछन् । त्यसपछि अंक तालिकामा शीर्ष स्थानमा हुने टिम यु -१९ विश्वकप खेल्न छनौट हुनेछ।
खेल तालिका
प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल सिंगापुसंग शुक्रबार एसटीसी मैदानमा खेल्नेछ। शनिबार युएईसंग किनरारा मैदानमा, सोमबार मलेसियासंग बायुमास ओभल मैदानमा, मंगलबारओमानसंग एसटीसी मैदानमा र अन्तिम खेल बिहिबार कुवेतसंग किनरारा मैदानमा खेल्नेछ।
सबै खेल मलेसिया समय १० वजे बिहान तथा नेपाली समय ७ ४५ बजे बिहान सुरु हुनेछन्।
नेपाली टीम : रोहित पौडेल, अभिषेक बस्नेत, भीम सार्की , हरिबहादुर चौहान, कमलसिंह ऐरी , कुशल मल्ल, आसिफ शेख, पवन सर्राफ, प्रतिश जिसी, रसिद खान, रित गौतम, सागर ढकाल, सन्दीप जोरा, सूर्य तामांग ,
प्रशिक्षक : बिनोद दास,
टीम म्यानेजर : रमन शिवाकोटी,
फिजियो : बिक्रम न्यौपाने