काठमाडौं, २८ चैत(एजेन्सीहरु) । पहिलो पटक खगोलशास्त्रीहरूले ब्ल्याक होलको तस्बिर खिचेका छन्। त्यसमा एउटा चम्किलो आभामण्डल देखिन्छ।
प्रसिद्ध भौतिकशास्त्री स्टिभन हकिङले ब्ल्याक होलबारे अनुसन्धान गरेका थिए। तर यो उपलब्धि भने उनले देख्न पाएनन्। उनको गत वर्ष निधन भयो।
उनका अनुसार ब्ल्याक होलहरू पहिला भन्ठानिए जस्तो कालो हुँदैनन्।
ब्ल्याक होल पृथ्वीबाट पाँच करोड ५० लाख प्रकाश वर्ष टाढा सुदूर आकाशगङ्गामा देखिएको थियो। यसको आकार सूर्यभन्दा ६५ अर्ब गुना ठूलो छ।
ब्ल्याक होलको तस्बिर विश्वका आठवटा टेलिस्कोपको नेटवर्कबाट खिँचिएको थियो। सोबारे एस्ट्रो फिजिक्स जर्नलमा विस्तृत समाचार छापिएको छ।
नेदरल्यान्ड्सको रोडबाउन्ड विश्वविद्यालयका प्राध्यापक हेइनो फेल्किलेसो अनुसन्धानको प्रस्ताव गरेका थिए। उनले भने , ‘‘हामीले जे देख्यौँ त्यो हाम्रो पूरै सौर्यमण्डलभन्दा ठूलो छ।’
के हो ब्ल्याक होल ?
ब्ल्याक होल अन्तरिक्षमा भएको यस्तो गुरुत्वार्कषण क्षेत्र हो जहाँ अत्याधिक गुरुत्वबलका कारण प्रकाश पनि बाहिरिन सक्दैन। वैज्ञानिकहरूका अनुसार अन्तरिक्षमा रहेको उच्च घनत्व भएको पिण्डबाट ब्ल्याक होलको निर्माण हुन्छ। ब्ल्याक होलको वरिपरि गणितीय हिसाबका आधारमा प्रमाणित गरिएको काल्पनिक सतह हुन्छ र त्यसलाई ‘इभेन्ट होराइजन’ भनिन्छ।
यो क्षेत्रमा पुगेपछि कुनै पनि वस्तु बाहिर आउन सक्दैन।
त्यसैले यो क्षेत्रलाई ‘प्वाइन्ट अफ नो रिटर्न’को संज्ञा दिएको छ।


















