Prakash Adhikari April 14, 2019

 

काठमाडौं, १ बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को साझा लक्ष्य प्राप्त गर्न २०७६ साल महत्त्वका साथ अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभएको छ।

नयाँ वर्ष २०७६ को अवसरमा नेपाली नागरिकमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दै राष्ट्रपति भण्डारीले ठूलो संघर्षपछि मुलुकले प्राप्त गरेको ऐतिहासिक उपलब्धिलाई सुशासन र समृद्धिमार्फत सुदृढ बनाउन नयाँ वर्षले सबैमा थप ऊर्जा प्रदान गर्ने आशा व्यक्त गर्नुभएको छ ।

उहाँले सन्देशमा भन्नुभएको छ, ‘मलाई विश्वास छ, नेपाल र नेपालीको दृढ सङ्कल्प साकार तुल्याउने अभियानमा हामीलाई माया गर्ने सम्पूर्ण अन्तर्राष्ट्रिय जगतको साथ र सहयोग हामीले पाउने नै छौँ ।’

विकास र समृद्धिको छलाङ हान्ने वर्ष

यस्तै, उपराष्ट्रपति नन्दबहादुर पुनले नयाँ वर्षको अवसरमा शुभकामना सन्देश जारी गर्दै २०७६ साल आर्थिक, सामाजिक रुपान्तरणसहितको विकास र समृद्धिका लागि छलाङ हान्ने वर्ष हुने विश्वास व्यक्त गर्नुभएको छ।

सन्देशमा नेपाली जनताको लामो संघर्षपछि प्राप्त गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्था राजनीतिक उपलब्धिलाई सुदृढ गर्दै मुलुकलाई विकास र समृद्धिको मार्गमा अगाडि बढाउनु सबै नेपालीको कर्तव्य भएको उल्लेख छ।

सन्देशमा भनिएको छ, ‘हाम्रो राष्ट्रियता, भौगोलिक अखण्डता, सार्वभौमसता र नेपाली जनताको स्वतन्त्रतालाई अझै बलियो बनाउँदै राष्ट्रिय एकतालाई सुदृढ गरेर अगाडि बढ्नुपर्छ।’

Share Now

Leave a comment.