काठमाडौँ, बैशाख ६ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले गरेको अन्याय र अत्याचारको विरुद्धमा नेपाल विद्यार्थी संघलाई उत्रन आग्रह गर्नुभएको छ ।
नेपाल विद्यार्थी सङ्घको ४९औँ स्थापना दिवसका अवसरमा नेविसंघ काठमाडौँले शुक्रबार राष्ट्र्यि सभागृहमा आयोजना गरेको ‘शुभकामना आदानप्रदान’ कार्यक्रममा उहाँले सरकार विरुद्ध आन्दोलन गर्नुपर्ने बेला आइसकेको बताउनुभयो ।
आफ्नो संक्षिप्त संबोधनमा कांग्रेस सभापति देउवाले निर्मला पन्तका हत्यारालाई सरकारले बचाउने काम गरिरहेको , सरकारले महङ्गी बढाएको, कर बढाएको आरोप लगाउदै वर्तमान सरकारको अन्याय, अत्याचारविरुद्ध नेविसंघ जाग्नुपर्ने बेला आएको बताउनभयो ।
सभापति देउवाले विद्यार्थीसँगको छलफलमा नेविसंघको तदर्थ समिति गठन गरिने आश्वासन पनि दिनुभयो ।
उहाँले मुलुकको महत्वपूर्ण आन्दोलनको नेतृत्व गरेको नेविसंघ सरकारको विरुद्ध आन्दोलनमा होमिनुपर्ने बेला आएको जिकिर गर्नुभयो ।
२०७२ फागुन महिनामा सभापतिमा निर्वाचित हुनुभएका देउवालाई पार्टीको केन्द्रीय समिति, केन्द्रीय समिति अन्तरगतका विभाग र समितिहरुलाई पूर्णता दिन नसकेको र भातृ संस्थाहरुलाई नियमित अधिवेशन गरेर स्वतन्त्र ढंगले सञ्चालन गर्ने अवस्था सिर्जना नगरेको र पार्टीको संगठनलाई सिथिल पारेको आरोप लाग्दै आएको छ ।
नेपाली कांग्रेसको भातृ संगठनमध्ये सबैभन्दा जुझारु र लोकप्रिय संगठनको रुपमा मानिदै आएको नेपाल विद्यार्थी संघको संगठन सभापति देउवाले पार्टीको नेतृत्व सम्हाले यता यतिबेला सबैभन्दा नाजुक अवस्थाबाट गुज्रेको छ ।
पार्टीद्धारा दिइएको समयावधिमा निर्वाचन गर्न नसकेर राजिनामा दिनुभएका नेपाल विद्यार्थी संघकाा तात्कालिन अध्यक्ष नैनसिंह महरको राजिनामा राजिनामा स्वीकार गर्नु भएको थियो ।
अध्यक्ष महरभन्दा पहिले नै पुस पुस २८ गते निर्धारित नियमित महाधिवेशन गर्ने मिति सार्वजनिक गरेर पनि नसकेको कारण देखाउदै उहाँको कार्यसमितिका उपाध्यक्ष त्रय सञ्जीवकुमार यादव, पुष्प शाही र विकास केसी, महामन्त्री सरोज थापा, सहमहामन्त्रीहरु प्रकाश घिमिरे,अच्युत केसी र प्रेम जोशीले मातृसंस्थाका सभापति शेरबहादुर देउवालाई निवासमा नै भेटेर पदबाट संयुक्तरुपमा राजिनामा दिनुभएको थियो ।
भदौमा हुने भनिएको नेविसंघको महाधिवेशन आन्तरिक विवादका कारण हुन नसकेपछि पार्टीले भदौ २ गते तीन महिनाभित्र महाधिवेशन गर्ने कार्यादेश सहित वर्तमान कार्य समितिको म्याद बढाएको थियो ।
थपिएको समयमा पनि महाधिवेशन गर्न नसकेपछि पुनः दुई महिनाको म्याद थपिएको थियो। २८ पुसको निर्धारित महाधिवेशन गर्न नसकेपछि महरले पनि राजिनामा दिनुभयो ।
त्यसपछि फागुन १ गते बसेको नेपाली कांग्रेसको बैठकले पार्टी सभापति देउवालाई आवश्यक परामर्श गरि नेपाल विद्यार्थी संघको तदर्थ समिति गठन गर्ने अधिकार दिएको थियो । तर दुई महिना व्यतित भैसक्दा पनि सभापति देउवाले निर्णय गर्न सक्नुभएन ।
नेपाल विद्यार्थी संघको स्थापना दिवसको अवसरमा संघलाई तदर्थ कार्य समिति वा समितिका अध्यक्ष वा संयोजकसम्म दिन सकिन्थ्यो तर त्यसको महत्व पनि सभापति र उहाँको टीमले बुझेन ।
नेपाल विद्यार्थी संघको राजनीतिबाट संघको अध्यक्ष हुँदै चार चार पटक प्रधानमन्त्री भैसक्नुभएका र पार्टी सभापति हुनुभएका शेरबहादुर देउवाले आफ्नै कार्यकालमा नेपाल विद्यार्थी संघको स्वर्ण जयन्ती बर्ष संघको केन्द्रीय नेतृत्वविहिन अवस्थामा मनाउनु पर्यो ।
नेपाल विद्यार्थी संघको स्थापना दिवसको कार्यक्रममा कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले वर्तमान सरकारले कुरा मात्र गर्ने तर काम नगर्ने गरेको धारणा राख्दै यसको विरुद्ध कांग्रेस एकजुट भएर लाग्नुपर्ने बेला आएको बताउनुभयो ।
उहाँले नेविसंघको कार्यसमिति चाँडो गठन गरि सङ्गठन सुदृढ पार्दै सरकारको गलत क्रियाकलापको विरोधमा जनमत निर्माण गर्न लगाइने बताउनु भयो ।
कार्यक्रममा कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान कम्युनिष्ट नेतृत्वको संयुक्त सरकार अधिनायकवादी शैलीमा हिडेकोले उसलाई लोकतान्त्रिक मार्गमा हिडाउन नेपाल विद्यार्थी संघ जस्ता शिक्षित र युवाहरुको सक्रियता आवश्यक भएको बताउनुभयो ।
कार्यक्रममा कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले लोकतान्त्रिक आन्दोलनको अग्र भागमा उभिएको नेविसंघको महत्व अहिलेको अवस्थामा झन् बढेर गएको बताउनुभयो ।
कार्यक्रममा कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेविसंघको नयाँ कार्यसमिति तत्काल निर्माण गरेर नेविसंघलाई जागरण अभियानमा समावेश गर्नुपर्ने बताउनुभयो ।
नेविसंघ काठमाडौँका अध्यक्ष मनोज वैद्यको सभापतित्वमा भएको सो कार्यक्रममा उहाँले नेविसंघको कार्यसमिति तत्काल गठन गर्न माग गर्नुभयो भने कार्यक्रममा नेविसंघका नेता लीलाबल्लभ दाहाल ‘काका’ले काठमाडौँका धेरै विद्यालयले कक्षा १ मा रु १ लाख भन्दाबढी भर्ना शुल्क लिएको भन्दै त्यसको विरुद्धमा नेविसंघ उत्रनुपर्ने बेला आएको उल्लेख गर्नुभयो ।


















