Prakash Adhikari May 6, 2019

काठमाडौँ, २३ बैशाख । डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल र उपेन्द्र यादवले नेतृत्व गरेको संंघीय समाजवादी फोरम नेपाल मिलाएर गठन गरिएको समाजवादी पार्टीको घोषणा भएको छ ।

सोमबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच घोषणा गरिएको नयाँ पार्टीले पदाधिकारीहरुको पनि टुंगो लगाएको छ ।
नयाँ घोषणा भएको समाजवादी पार्टीले एमाले र माओवादीको एकीकरण पछि भएको समायोजनको सिको गर्दै दुईजना अध्यक्ष राखेको छ।

पार्टीको संरचनामा बनाइएको संघीय परिषद् नेपालको अध्यक्ष विघटित नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईेले गर्नु हुनेछ । यो परिषद् देशभरका विभिन्न संघीय कमिटीहरुको नेतृत्वदायी परिषद्को रुपमा रहनेछ, । विघटित फोरमका अध्यक्ष उपेन्द्र यादवले केन्द्रीय समितिको अध्यक्षको जिम्मेवारी लिनुभएको छ ।

तत्कालीन एमालेबाट छुट्टिएर संघीय समाजवादी पार्टी नेपाल बनाउनुभएका अशोककुमार राई समाजवादी पार्टीमा वरिष्ठ नेता रहनुभएको छ । यो पार्टीको सह–अध्यक्षमा फोरमतर्फबाट राजेन्द्रप्रसाद श्रेष्ठ चयन हुनुभएको छ।

त्यसैगरी पार्टीको उपाध्यक्षमा आठजना चयन गरिएको छ । एकीकृत पार्टीमा नवराज सुवेदी, परशुराम खापुङ, युवराज कार्की, रकम चेम्जोङ, रेणुकुमारी यादव, लालबाबु राउत, हिसिला यमी र हेमराज राईलाई उपाध्यक्षको जिम्मेवारी दिइएको छ ।

नयाँ पार्टीको महासचिवको जिम्मेवारी तीनजनाले पाएका छन् । महासचिव बन्नेहरुमा गंगानारायण श्रेष्ठ, रणध्वज कन्दङ्वा र रामसहायप्रसाद यादव हुनुहुन्छ ।

समाजवादी पार्टी नेपालको उपमहासचिवमा डम्बर खतिवडा, दानबहादुर विक र प्रकाश अधिकारी चयन हुनुभएको छ ।

पार्टीको सचिवको जिम्मेवारी मोहम्मद इस्तियाक राई, दुर्गा सोब, परशुराम बस्नेत र वसन्त सिंहलाई दिइएको छ ।

दुईजना सचिवमा पछि मनोनयन गर्ने बताइएको छ ।

समाजवादी पार्टीको कोषाध्यक्षको जिम्मेवारी प्रदेश २ का अर्थमन्त्री विजयकुमार यादवलाई दिइएको छ ।

Share Now

Leave a comment.