प्र
विराटनगर(मोरड.)। प्रदेश १ ले विराटनगरलाई स्थायी राजधानी बनाएको छ । हालसम्म अस्थायी राजधानी रहेको विराटनगरलाई नै स्थायी राजधानी बनाउने प्रस्ताव सोमबारको प्रदेशसभा बैठकबाट पारित भएको हो।
विराटनगरलाई स्थायी राजधानी बनाउन नेकपाका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले राखेको प्रस्ताव सर्वसम्मतिले पारित भएको थियो।
विराटनगरलाई राजधानी बनाउने प्रस्तावको पक्षमा प्रदेशसभामा रहेका ९३ जना सांसदमध्ये ८६ जनाले मतदान गरेका थिए । विपक्षमा कुनै मत परेन।
सभामुख प्रदीपकुमार भण्डारीले मत परिणाम सुनाउँदै प्रदेशको स्थायी राजधानी विराटनगर भएको घोषणा गरेका थिए।
पारित प्रस्तावमा व्यवस्थापिका, कार्यपालिका लगायत अन्य प्रशासनिक संरचना विराटनगर, इटहरी र सुन्दरहरैंचा आसपासका क्षेत्रमा रहने उल्लेख छ।
यसअघि नेपाली कांग्रेसका तर्फबाट पनि विराटनगरलाई राजधानी बनाउनु पर्ने प्रस्ताव पेश भएको थियो भने नेकपाले पनि विराटनगरलाई नै राजधानी बनाउन संस्थागत निर्णय गरेको थियो । यद्यपि नेकपाको निरन राई र कांग्रेसकै सांसद लिला सुब्बाले धनकुटालाई राजधानी बनाउनु पर्ने प्रस्ताव संसदमा दर्ता गराएका थिए।
मुख्यमन्त्री शेरधन राईले राजधानीको विषयमा सहमतिको पहल गरेपछि दर्ता भएका अन्य प्रस्तावहरु प्रस्तावकले फिर्ता लिएका थिए ।


















