काठमाडौं,१ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली भियतनाम र कम्बोडियाको भ्रमणमा पूरा गरी स्वदेश फर्कनुभएको छ ।
स्वदेश फर्कने वित्तिकै सलामी खाएर पत्रकार सम्मेलनमा प्रस्तुत हुनुभएका प्र्रधानमन्त्री ओलीले मिडिया काउन्सिलका बारेमा देशको सञ्चार र अभिव्यक्तिको पक्षमा रहेका नेपालीहरुलाई कटाक्ष हुने गरि संसदमा दर्ता भएको मिडिया काउन्सिलसम्बन्धी विधेयक जानी बुझी ल्याएको भनेर भित्रभित्र सल्किरहेको असन्तुष्टिको आगोमा घ्यू हाल्ने काम गर्नुभएको छ ।
उहाँले समाजलाई सभ्य बनाउन सरकारले विधेयक ल्याएको भन्दै संसद भन्दा अगाडि सरेर लोकतन्त्रको बद्नाम नगर्न प्रेस स्वतन्त्रताको पक्षमा रहेका व्यक्ति,संस्था र राजनीतिक शक्तिहरुलाई चुनौति दिनुभएको छ ।
प्रधानमन्त्री ओलीले ल्याएका विधेयकमा बहस गर्न सकिने भन्दै संसदमा विधेयक च्यात्नु शोभनीय नहुने बताउनुभयो ।
समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री गुएन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओलीसहितको टोली वैशाख २६ गते दुवै देशको औपचारिक भ्रमणमा निस्किएको थियो।
वैशाख २६ देखि ३० सम्म भियतनामको भ्रमण सकेर प्रधानमन्त्री ओली बैशा ३० मा नै कम्बोडियाको औपचारिक भ्रमणमा पुग्नुभएको थियो।
प्रधानमन्त्रीको भ्रमणका क्रममा भियतनाम र कम्बोडियासँग द्विपक्षीय हितका विषयमा विभिन्न सहमति, समझदारी र छलफल भएका छन्।
विन–विन–मोनुमेण्टको अवलोकन भ्रमण

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार नै कम्बोडियास्थित विन–विन–मोनुमेण्ट भ्रमण गर्नुभएको थियो । चोरी चान्भर जिल्लामा रहेको सो स्मारक सन् १९९८ डिसेम्बर २९ मा कम्बोडियाको गृहयुद्ध सम्बन्धित छ । सो क्षेत्रमै मारोडोक डेको नेशनल स्पोर्टस कम्प्लेक्स रहेको छ जहाँ सन् २०२३ मा दक्षिणपूर्वी एशियाली खेलकूद हुने र चाँडै नोम पेन्ह सेटलाइट टाउन बन्ने कम्बोडियाका अधिकारीले बताएका छन् ।
सो स्मारकले आउँदो पुस्तालाई एउटा राम्रो शिक्षा दिएको छ जसले कम्बोडियाको राष्ट्रिय मेलमिलाप, स्वतन्त्रता, एकता, सार्वभौमिकता, विकास र समृद्धिलाई प्रतिनिधित्व गर्छ । उक्त स्मारक एक करोड २० लाख डलरमा निर्माण भएको हो जुन सम्पूर्ण कम्बोडियालीको संयुक्त उपलब्धि मानिन्छ ।
सिल्भर प्यागोडाको अवलोकन

प्रधानमन्त्री केपी शर्मा ओलीले यहाँस्थित आज सिल्भर पेगोडाको अवलोकन गर्नुभएको छ । वाट प्रिया केओ अर्थात् पन्नाको बुद्ध मन्दिर पनि भनिने सिल्भर पेगोडा यसको भूइँका लागि प्रख्यात छ जुन पाँच टन चम्किलो चाँदीले ढाकिएको छ ।
सिल्भर पेगोडासम्म जाने भ¥याङ इटालेली सिङमर्मरद्वारा बनेको छ । सन् १८९२ मा राज नोरोदोमका पालामा पहिले काठबाट बनाइएको सो पेगोडा सन् १९६२ मा पुनःनिर्माण गरिएको थियो । यो कम्बोडियाको प्रसिद्ध हेर्नलायक दर्शनीय संरचना हो । प्रधानमन्त्री ओली र उहाँको प्रतिनिधिमण्डलले सो पेगोडाको शैली र वैभवताको अभिरुचिपूर्वक अवलोकन गरेका थिए ।
प्रधानमन्त्री ओलीसँगै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल र परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई, परराष्ट्र, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवहरु भ्रमण दलमा सहभागी हुनुहुन्थ्यो।


















