काठमाडौं,४ जेठ । आजको १२ औं दिन अर्थात यही मे ३०मा आरम्भ हुने १२ औं संस्करणको एक दिवसीय क्रिकेट खेलको विश्व कप विजेता टीमले ४० लाख डलर अर्थात करिब ४४ करोड नेपाली रुपैयाको पुरस्कार पाउने भएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले शुक्रबार उपाधि विजेता,उप-विजेता र अन्य विधामा दिइने पुरस्कारको राशी सार्वजनिक गरेको हो ।
आईसीसीले सार्वजनिक गरेको सूचना अनुसार पुरस्कार राशी यस्तो छ :
विजेता १ टीमलाई : ४०,००,०००। डलर
उप-विजेता १ टीमलाई : २०,००,०००। डलर
सेमि-फाइनलसम्म पुग्ने
बाँकी २ टीम(प्रत्येक)लाई: ८,००,००० । डलर
लिग चरण जित्ने ४५ विजेता(प्रत्येक)लाई: ४०,००० । डलर
लिग चरण पार गर्ने ६ टिम(प्रत्येक)लाई : १,००,००० । डलर
जम्मा पुरस्कारको राशी १ करोड डलर
यही मे ३० देखि आरम्भ हुने क्रिकेटको विश्वकप पूरै डेढ महिना अर्थात जुलाई १४ सम्म चल्नेछ । यसपटकको १२ औं विश्वकप बेलायतमा हुँदै छ ।
आईसीसीले यस पटक पुरस्कार राशी बढाएको हो । यस अघि सन् २०१५ को एकदिवसीय विश्वकप विजेता अस्ट्रेलियाले ३.९७५ मिलियन डलर पुरस्कार पाएको थियो। यस्तै सन् २०११ मा भारतले विश्वकप जित्दा ३.२५ मिलियन डलर पुरस्कार पाएको थियो।
यो पटक उपविजेता टिमको पुरस्कार रकम पनि बढाएर २ मिलियन अमेरिकी डलर पुर्याइएको हो , सन् २०१५ मा उपविजेता न्युजिल्याण्डले १.७५ मिलियन डलर पाएको थियो।
प्रतियोगिताको सेमीफाइनलमा पराजित हुने टिमले ८ लाख डलर पाउनेछ भने लिग चरणको प्रत्येक खेल जित्ने टिमले ४० हजार डलर पाउनेछ। लिग चरणमा कुल ४५ खेल खेलिनेछन्। यस्तै लिग चरण पार गर्ने प्रत्येक टीमले १ लाख डलर पाउनेछन्।
यो विश्वकपमा कुल १० टीम सहभागी छन् जसमा अफगानिस्तान, अस्ट्रेलिया, बंगलादेश, इंग्ल्याण्ड, भारत, न्युजिल्याण्ड, पाकिस्तान, दक्षिण अफ्रीका, श्रीलंका र वेस्ट इन्डिज रहेका छन्।
लिग चरणमा सबै १० टिमले एकअर्का बिरुद्ध १। १ खेल खेल्नेछन् । सबै टीमले एकअर्का बिरुद्ध खेल्दा एउटा टीमले बाँकी ९ टीमसंग खेल्न पाउछ । दुई टीमको भेट एकपटक मात्र हुँदा जम्मा ४५ खेल खेलिने छ ।
प्रतियोगिताको उद्घाटन खेलमा ३० मेमा आयोजक इंग्ल्याण्ड र दक्षिण अफ्रीकाले प्रतिस्पर्धा गर्नेछन्। ४६ दिनसम्म कुल ११ मैदानमा खेलिने विश्वकपको फाइनल खेल १४ जुलाईमा लर्ड्स मैदानमा खेलिनेछ। सेमिफाइनल खेलहरु भने मेनचेष्टरको ट््राफोर्ड र बर्मिड.घमको इडेनबाट्सनमा क्रमश ९ र ११ जुलाईमा हुनेछ ।
इंग्ल्याण्ड र वेल्सले सन् १९७५,१९७९,१९८३ र १९९९ मा पनि विश्व कपको आयोजना गरेको थियो ।
१९७५ देखि सुरु भएको एक दिवसीय विश्वकपको १९७५ र १९७९ को संस्करण वेस्ट इन्डिजले जितेको थियो। अस्ट्रेलियाले सन् १९८७, १९९९, २००३, २००७ र २०१५ गरि ५ पटक विश्वकप जितेको छ। भारतले सन् १९८३ र २०११ गरि २ पटक विश्वकप जितेको छ भने पाकिस्तानले सन् १९९२ र श्रीलंकाले सन् १९९६ मा क्रिकेट विश्वकप जितेका छन् ।


















