न्यूयोर्क(संयुक्त राज्य अमेरिका),६ जेठ । अमेरिकामा बस्ने नेपालीहरुले यस बर्ष न्यूयोर्कको म्यानहटनमा भव्य रुपमा परेड सञ्चालन गरेका छन् ।
आइतबार सम्पन्न उक्त परेड निकै भव्य र सभ्य रुपमा सञ्चालन भएको बताइएको छ । कार्यक्रममा नेपालका विभिन्न भेषभूषा र सांस्कृतिक तथा धार्मिक झाँकीहरु प्रदर्शन पनि गरिएको थियो ।
कार्यक्रममा बाग्लुङ समाजको पञ्चेबाजा घन्काएको थियो भने रिजउड नेपाली समाजको भजन किर्तन प्रस्तुत गरेको थियो । गुरुङ तथा शेर्पा समुदायले पनि बाजा गाजा सहितको झाँकीपनि निकालेका थिए ।
परेडमा यो नेपाली शीर उचाली संसारमा लम्कन्छ, जुनकिरी झै ज्योतिबाली अन्धकारमा चम्कन्छ भन्ने बोलको गीतले पनि सहभागीहरुलाई उत्प्रेरित गरिहेको थियो ।
नेपालको हिमाल,पहाड र तराई मधेशका विभिन्न क्षेत्र, जाती र सम्प्रदायका नागरिकहरु आआफ्नो भेषभूषा सहित सांकृतिक र धार्मिक झाँकीमा गीत र संगीतको तालमा नाच्दै निस्कदा न्यूयोर्क प्रतिष्ठित नागरिकहरुको निवास रहेको म्यानहटन क्षेत्रमा निकै रौनक आएको थियो । अन्य मुलुकका नागरिहरुले पनि नेपाली भाषा,गीत,संगीत,संस्कृति र झाँकीहरुसहितको परेडलाई बडो अभिरुचि दिएर हेरेका थिए ।
म्यानहाटनको ३८ स्ट्रीट र म्याडिसन एभिन्युबाट शुरु भएको र्याली म्याडिसन एभिन्युकै २४ र २५ स्ट्रीटको विचमा पुगेर समापन भएको थियो । शेर्पा संघका अध्यक्ष निमा शेर्पाको संयोजकत्वमा नेपाल डे परेड २०१९ सम्पन्न भएको यस कार्यक्रमको कन्भेनर सत्यन्द्र साह रहेका थिए ।
परेडको उदघाटन संयुक्त राष्ट्रसंघमा नेपालका स्थायी प्रतिनिध अमृतकुमार राईले गर्नुभएको थियो । कार्यक्रममा महाबाणिज्यदूत पुष्पराज भट्टराई लगायतका व्यक्तिहरुले परेडले दिने सकारात्मक उपलब्धिहरुको चर्चा गर्नुभएको थियो ।