काठमाडौं ,१२ जेठ । राजधानीको घट्टेकुलो, सुकेधारा र चन्द्रागिरिमा सरकारद्धारा प्रतिबन्धित नेकपा माओवादी विप्लव समूहले गराएको बम विस्फोटमा परि ४ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।
घट्टेकुलो विस्फोटमा ज्यान गुमाउने प्रज्वल शाहीको नाम खुलेको छ भने सुकेधारामा ज्यान गुमाउने शैलुन पसले महोत्तरीका जीवकुमार ठाकुर रहेको खुलेको छ ।
उपचारका लागि ओम अस्पतालमा पुर्याईएका दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ ।
उनीहरु सुकेधारा विस्फोटमा परेका थिए ।ओम अस्पतालमा उपचारको क्रममा निधन भएकाहरुको पहिचान खुलेको छैन ।
घट्टेकुलो विस्फोटका घाइते रविन केसीको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।
उनी विप्लव समूहका विद्यार्थी नेता हुन् ।
सुकेधारा विस्फोटमा घाइते भएका सुरेन्द्र महर्जन विप्लव समूहको भातृ संस्था नेवा मुक्ति मोर्चाका नेता रहेको प्रहरीले जानकारी दिएको छ ।
सुकेधारास्थित ढलाने पुल नजिकै सैलुनमा बम विस्फोट भएको थियो ।
घट्टेकुलोको सङ्गम गल्लीमा भएको सिलिण्डर विस्फोटमा परेर २६ वर्षीय रबिन केसीको मृत्यु भएको हो ।
विस्फोटमा परेर निधन भएका केसीको शरीर क्षतविक्षत भएको अवस्थामा सुरक्षाकर्मीले फेला पारेको थियो ।
प्रत्यक्षदर्शी स्थानीयवासीका अनुसार बम विस्फोटबाट घरको गारो नै चर्किएको छ भने कोठामा भएको सामानमा समेत क्षति पुगेको छ ।
घटनास्थलमा थप विस्फोटक पदार्थ रहेको आशङ्कामा नेपाली सेनाको तालीमप्राप्त टोली परिचालन भएको छ ।
प्रत्यक्षदर्शी शौरभ भट्टराईले ठूलो आवाजका साथ विस्फोट भएको र घरको गारोसमेत चर्किएको जानकारी दिनुभयो ।
सुकेधारा र घट्टेकुलोमा सिलिण्डर नै विस्फोट भएको पाइएको प्रहरीको भनाइ छ तर आफै विस्फोट भयो कि गराइयो भन्ने बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
सुकेधारा घटनामा परी घाइते भएकामध्ये चार जनाको ओम अस्पताल चावहिल र एक जनाको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
चन्द्रगिरी नगरपालिका–३ इँटाभट्टा चोकमा बम विस्फोट भएको छ ।
विस्फोटमा बम बोकेर हिडेका विक्रम लामा र आकाश लामा घाइते भएका छन् ।
उनीहरुको शहीद मेमोरियल अस्पताल कलंकीमा उपचार भैरहेको छ ।
कोटेश्वर, नरेफाँटबाट ७ जना विप्लव समूहका कार्यकर्तालाई पक्राउ परेका छन् भने लगनखेल, ग्वार्को, सातदोबाटो लगायतका स्थानमा पनि शंकास्पद बस्तु भेटिएको छ ।


















