काठमाडौँ,१३ जेठ । नेपालको आन्तरिक उडानमा ख्याति कमाएको बुद्ध एयरले आजदेखि काठमाडौँबाट भारतको कोलकत्ता सिधा उडान गर्ने भएको छ ।
बुद्धले ७० सीट भएको एटीआर ७२ बाट कोलकोता उडान गर्नेछ । १२ वटा विमान भएको बुद्धका लागि कोलकत्ता चौथो अन्तर्राष्ट्रिय गन्तव्य हो । यसअघि उसले भुटानको पारो, भारतको लखनउ र बनारसमा सिधा उडान गरेको थियो । त्यसमध्ये पारो र लखनऊको उडान स्थगित भएको छ । बनारसमा भने बुद्धले सातामा दुई उडान भर्दै आएको छ ।
२२ वर्षअघि स्थापना भएको यस एयरलाइन्सले कोलकोताको उडान सुचारु भएपछि पूर्वोत्तर भारतको आसाममाको राजधानी गुवाहाटीमा पनि उडान थाल्ने घोषणा गरेको छ ।
बुद्धले कोलकोतामा सातामा तीनवटा उडान गर्दै छ । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि कोलकत्तास्थित नेताजी सुवाष चन्द्र बोस अन्तर्राष्ट्रिय विमानस्थलसम्मको उडान अवधि डेढ घन्टाको हुनेछ । बुद्धले यस रुटको दुईतर्फी भाडा २२ हजार हाराहारी तय गरेको छ ।
‘कोलकत्ताको रुट पर्यटकीय रुट भएकोले पर्यटकको सङ्ख्या बढाउनमा यो उडान सहयोगी हुने विश्वास बुद्ध एअरले व्यक्त गरेको छ ।
यो रुटमा नेपाल वायुसेवा निगम र कस्मिक एअरले पनि विगतमा उडान गरेका थिए ।


















