सानेपा(ललितपुर),२४ जेठ । नेपाली कांग्रेसले आफ्ना स्थानीय कार्यकर्ताहरुलाई कैलाली र कञ्चनपुरमामा आएको हावाहुरी पीडितको उद्धार, राहत र पुनस्थापनामा सक्रिय हुन निर्देशन दिएको छ ।बिहिबार साँझ आएको हावाहुरीका कारण दुई जनाको मृत्यु र एक सय भन्दा बढी व्यक्ति घाइते÷अंगभंग तथा भौतिक संरचनाको क्षति र जनजीवन प्रभावित भएको थियो ।कांग्रेसले सो प्राकृतिक घटनाप्रति गहिरो दुःख प्रकट गर्दै प्राकृतिक विपदका कारण अकालमै निधन हुनु भएका सबैप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार तथा आफन्तजनहरुप्रति हार्दिक समवेदना प्रकट गरेको छ ।
कांग्रेसले यस विपदमा परी घाइते हुनु भएकाहरुलाई तत्काल उद्धार गरी आवश्यक सम्पूर्ण उपचारको व्यवस्था गर्न र अकालमा जीवन गुमाउन पुगेकाहरुका पीडित परिवारलाई राहत तथा क्षतिपूर्तिको व्यवस्था तत्काल गर्न सरकारलाई आग्रह गरेको छ।
“हिमाल, पहाड, तराई–मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान” को प्रथम चरणको कार्यक्रम अन्तर्गत जेठ २५ गते सबै जिल्लाहरुमा ¥याली सहित आमसभा गरेर समापन गर्ने केन्द्रको परिपत्र रहेता पनि कैलाली र कञ्चनपुरमा आएको हावाहुरीका कारण हुन पुगेको मानवीय एवं भौतिक क्षतिप्रतिको संवेदनशीलतालाई आत्मसात गरी उक्त दुई जिल्लाको राष्ट्रिय जागरण अभियानको पूर्व निर्धारित सम्पूर्ण कार्यक्रमलाई राहत र उद्धारको कार्यमा रुपान्तरण गर्न तथा जिल्लामा तोकिनु भएका केन्द्रीय प्रतिनिधि र पार्टीका सम्पूर्ण साथीहरुलाई प्रभावित क्षेत्रमा मानवीय उद्धार र राहतको कार्यमा जुट्न पनि कांग्रेसले आग्रह गरेको छ ।


















