काठमाडौं, २६ जेठ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संगठनलाई मजबूत,कार्यकर्तालाई क्रियाशील बनाउदै आगामी निर्वाचन जित्ने उद्देश्यले थालेको देशव्यापी जन जागरण अभियानको महिना दिन लामो पहिलो चरणको कार्यक्रम सम्पन्न भएको छ ।
बैशाख २६ गते देशका ७७ ओटै जिल्ला सदरमुकामबाट एकसाथ आरम्भ भएको कार्यक्रमको समापन वरिष्ठ केन्द्रीय नेताहरुको उपस्थितिको समय जुराएर जेठ २५ र २६ गते गरिएको थियो ।
नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा जागरण कार्यक्रमको समापनमा सरिक हुन लमजुङ दुधपोखरी गाँऊपालिकामा आयोजित कार्यक्रमलाई संबोधन गर्नुभएको थियो भने अघिल्लो दिन उहाँ ललितपुर जिल्ला कार्य समितिले आयोजना गरेको समापन समारोहमा सरिक हुनुभएको थियो ।
कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल २६ गतेको समापन कार्यक्रममा सरिक हुन गृहजिल्ला तनहुँको दमौलीमा पुग्नुभयो । अधिल्लो दिन उहाँ दोलखाको सदरमुकाम चरिकोटमा आयोजित कार्यक्रममा सरिक हुनुभएको थियो ।
https://www.facebook.com/ramesh.khatiwada.33/videos/2598245490188249/
नपाली कांग्रेस उपसभापति विमलेन्द्र निधि जनजागरण कार्यक्रमको पहिलो चरणको समापन कार्यक्रमको समापनमा जनकपुरमा आयोजित कार्यक्रममा सरिक हुनुभयो । उहाँले दुई तिहाईको दम्भ लिएको के.पी.ओली नेतृत्वको कम्युनिष्ट सरकार प्रदेश र स्थानीय तहमा हस्तक्षेप गर्दै अदालत, सेना, कर्मचारी, संसद, प्रहरी सबैतिर कम्युनिस्टीकरण गरिहेको आरोप लगानुभयो ।
नेपाली काङ्ग्रेसका महामन्त्री पूर्णबहादुर खड्का जन जागरण अभियानको समापन कार्यक्रमा चितवनमा सरिक हुनुभयो ।कार्यक्रममा काङ्ग्रेसका नेता सुरेन्द्रप्रसाद चौधरी महिला सङ्घकी केन्द्रीय अध्यक्ष उमा रेग्मी, काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, उपसभापति कैलाश कोइरालालगायतले बोल्नुभएको थियो ।
एक महिनासम्म काभ्रेमा जागरण अभियानको कमाण्ड सम्हालेर बस्नुभएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइराला पहिलो चरणको समापन कार्यक्रममा दुई तीन कार्यक्रममा सरिक हुनभयो । उहाँ काभ्रे, मण्डन देउपुरको सिपाघाट, चौरी देउराली गाउँपालिकाको छेडामा पार्टीको जागरण कार्यक्रममा सरिक हुनुभयो ।
जन जागरण कै क्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य, पूर्व महामन्त्री तथा पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंह नेपाली कांग्रेस दैलेखले सदमुकाम दैलेख बजारमा आयोजना गरेको सरिक हुनुभयो । समापन कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले कांग्रेसलाई मुठिभरका तत्व भन्ने राणादेखि राजासम्मलाई सत्ताबाट विस्थापित गर्ने नेपाली कांग्रेसलाई कमजोर नआँक्न सत्तारुढ दलका नेता र कार्यकर्तालाई चुनौति दिनुभयो ।कार्यक्रमलाई कांग्रेस केन्द्रीय सदस्य हृदयराम थानी पूर्वमन्त्री गणेशबहादुर खड्का,सांसद हिबहादुर साही लगायतले सम्बोधन गर्नुभएको थियो ।
नेपाली कांग्रेसको प्रथम चरणको एक महिने जागरण अभियानलाई राजधानी काठमाडौंमा पनि भव्यताकासाथ समापन गरिएको छ ।नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रमुख सचेतक तथा काठमाडौं जिल्लाका केन्द्रीय प्रतिनिधि बालकृष्ण खाँणको प्रमुख आतिथ्यता, नेपाली कांग्रेसका केन्द्रीय सदस्य ध्यानगोविन्द रंजित, नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री भीमशेनदास प्रधान , सांसद राजन कुमार के सी, प्रदेश न ३ प्रमुख सचेतक राधा घलेलगायतका नेताहरुको आतिथ्यता एवम् काठमाडौं जिल्ला सभापति कृष्ण बानियाँ सवुजको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।
नेपाली कांग्रेसले बैशाख २५ गतेबाट देशैभर संचालन गरेको हिमाल, पहाड, तराई( मधेस नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियानू अन्तर्गत धादिङमा संचालित पहिलो चरणको कार्यक्रम जेठ २५ गते शनिबार धादिङबेसीमा वृहत् जागरण र्याली र वृहत् राष्ट्रिय जागरण सभा आयोजना गरी समापन गरेको छ ।
सरकार विरुद्ध जनमत तयार
नेपाली कांग्रेसले पहिलो चरणको जनजागरण अभियान अन्तरगत वर्तमान सरकारका गलत कामकारबाहीका बारेमा समेत जनचेतना जगाएको छ । कांग्रेस नेताहरुले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार इतिहासकै सबैभन्दा भ्रष्ट रहेको आरोप लगाएका छन् । सरकारी ढुकुटीको चरम दुरुपयोग गर्दै आफ्ना कार्यकर्ता पाल्न सरकारले ऐन नियमलाई कुल्चीएर मनपरी गरेको भन्दै उनीहरुले आगामी निर्वाचनमा कम्युनिष्ट समाप्त हुने चेतावनी दिएका छन् ।
दुई तिहाईको सरकारले देशमा कम्युनिष्ट अधिनायकवाद लागू गर्दै अख्तियार, सर्वोच्च अदालत, निर्वाचन आयोग जस्ता संवैधानिक निकायमा आफ्ना कार्यकर्ता भर्ती गरेर सरकारले एकाधिकार लागू गर्न खोजेको , कर्मचारी तन्त्र तहस नहस बनाएको, विश्वविद्यालयको प्राज्ञिक स्वतन्त्रता समाप्त पार्न खोजेको,पत्रकारहरुको अभिव्यक्ति स्वतन्त्रता अपहरण गर्न खोजेको, मानवअधिकार आयोग जस्तो स्वतन्त्र संवैधानिक आयोगलाई महान्यायाधिवक्ताको कार्यालय अन्तरगत लगेर खुम्च्याउन खोजेको, प्रधानसेनापतिलाई बाइपास गरेर सेना परिचालन गर्ने नियतले राष्टिय सुरक्षा परिषद् ऐन ल्याउन खोजिएको, देशको विकास निर्माणको काम छिटो गर्ने नाममा ठूला आयोजनाहरु विना प्रतिस्पर्धा प्रधानमन्त्रीले दिन सक्ने खालको ऐन ल्याउन खोजेको, अधिकारको विकेन्द्रीकरण गर्नुपर्नेमा राज्यका महत्वपूर्ण विभागहरु अपराधीलाई उम्काउने र रकम कुम्ल्याउने हिसाबले प्रधानमन्त्री अन्तरगत लैजान खोजिएको जस्ता दर्जनौ प्रकरणलाई जनतासामु पुर्याएका छन्। वर्तमान सरकारको पालामा वाइडबडी खरिदमा भएको ६ अर्ब ५९ करोडको घोटालालाई सामसुम पार्न खोजिएको विषयलाई पनि कांग्रेस नेता र कार्यकर्ताहरुले चर्को रुपमा उठाएका छन् ।