Prakash Adhikari January 4, 2018

 

काठमाडौं, १९ पौष । ठूला करदाता कार्यालयले बहुचर्चित एनसेल कर प्रकरणमा उठ्न बाँकी धनराशि असुल गर्न आवश्यक परे कानूनी प्रक्रिया अपनाउने बताएको छ।

‍सो कार्यालयले बुधबार एक अंग्रेजी दैनिक पत्रिकामा बिक्रेता टेलिया सोनेरालाई आयकर ऐन अनुसार ६५ अर्ब रुपैयाँ भन्दा बढी रकम बुझाउन १५ दिने सूचना प्रकाशित गरेको थियो।

स्वीडेनको कम्पनी टेलिया सोनेराले डेढ वर्ष अघि मलेसियाली कम्पनी एक्जिएटालाई एनसेलको शेयरको ठूलो हिस्सा बिक्री गरेपछि लाभकरको ठूलो हिस्सा नेपाल सरकारलाई बुझाएको छैन् ।

स्वीडेनको कम्पनी टेलिया सोनेराले विदेशमै कारोबार भएको लगायतको कारण देखाउँदै नेपाल सरकारलाई कर तिर्न लामो समदेखि आनाकानी गरिरहेका बेला बुधबार ठूला करदाता कार्यालयले उक्त कम्पनीलाई पूँजीगत लाभकर वापत अर्बौं रुपैयाँ तिर्न सूचना प्रकाशित गर्दै झकझक्याएको हो।

उपाय
ठूला करदाता कार्यालयका प्रमुख गंगाराम गेलालले पत्राचार र सूचनाका माध्यमबाट पनि कर असुली गर्ने प्रयास विफल भए कानुनी उपाय अपनाइने बताए ।

उनले भने, अब हामी स्वीडेनका पत्रपत्रिकामा सूचना निकाल्छौं। त्यसले पनि काम गरेन भने नेपालमा र स्वीडेनको अदालतमा पनि मुद्दा दायर गर्न सक्छौं।

स्वीडेनको कम्पनी टेलिया सोनेराबाट कर असुली गर्न परराष्ट्र मन्त्रालयमार्फत कूटनीतिक प्रयास थालिसकिएको ठूला करदाता कार्यालयले बताएको छ ।

अब हामी स्वीडेनको पत्रपत्रिकामा सूचना निकाल्छौं। त्यसले पनि काम गरेन भने नेपालमा र सो मुलुकको अदालतमा पनि मुद्दा दायर गर्न सक्छौं
गंगाराम गेलाल, प्रमुख, ठूला करदाता कार्यालय

रकम
२०७२ चैतमा स्वीडिश टेलिया सोनेराले एनसेलमा रहेको आफ्नो ८० प्रतिशत शेयर मलेसियाली आजियाटालाई बिक्री गरेको थियो।

त्यस वापत उसले नेपाल सरकारलाई ६० अर्ब रुपैयाँभन्दा बढी पूँजीगत लाभकर बुझाउनुपर्ने थियो।

तर एनसेलले हालसम्म दुई पटक गरी साढे २३ अर्ब रुपैयाँ जति बुझाएको थियो।

यसबीच उठ्न बाँकी रहेको भनिएको कर नतिरी लाभांश समेत बाहिर लैजान नपाउने गरी सरकारले लगाएको रोक सर्वोच्च अदालतले गत साता उल्ट्याइदिएको थियो।

आदेश
टेलिया सोनेराबाट स्वामित्वमा रहेको सेन्ट् किट्सस्थित रिनोल्डस् होल्डिङ्स कम्पनी र एनसेलले ठूला करदाता कार्यालयविरुद्ध हालेको मुद्दामा सर्वोच्चले लाभांश फिर्ता लैजान अवरोध नगर्न भनी सरकारी निकायलाई आदेश दिएको थियो।

सर्वोच्चको आदेश पछिल्लो कम्पनी आजियाटाका लागि भएकोले ठूला करदाता कार्यालयले बुधबार जारी गरेको सूचना अदालतको निर्देशनसँग नबाझिने प्रमुख गेलालले बताए।

उनले भने, पछिल्लो स्वामित्वकर्तालाई लाभांश लैजान नदिएको भनेर अदालतमा मुद्दा परेको हो। पछिल्लो स्वामित्वकर्तासँग यो सूचनाको सम्बन्ध भएन। हामीले अघिल्लो स्वामित्वकर्ता टेलिया सोनेरालाई कर तिर्न भनेर यो सूचना निकालेको हो ।

बुधबार प्रकाशित सूचनामा करिब ६० अर्ब ७१ करोड रुपियाँमा ब्याज र जरिवानासहित जोडी ६५ अर्बभन्दा बढी पुगेको जनाइएको छ।
(बीबीसी नेपाली सेवाबाट)

Share Now

Leave a comment.