भगीरथ योगी
लण्डन(संयुक्त अधिराज्य),२८ जेठ(बीबीसी) । प्रधानमन्त्री केपी शर्मा ओलीले गोर्खा सैन्य भर्तीसम्बन्धी नेपाल, भारत र ब्रिटेनबीच भएको त्रिपक्षीय सन्धिको व्यापक पुनरवलोकन गर्नुपर्ने जनाएका छन्।
ब्रिटेनको भ्रमणमा रहेका ओलीले आफ्नी ब्रिटिश समकक्षी टरिजा मेसँगको भेटघाटमा त्यस्तो जनाएका हुन्।
मङ्गलवार अपराह्न ब्रिटिश प्रधानमन्त्रीको कार्यालय टेन डाउनिङ स्ट्रीटमा भएको छोटो भेटवार्तामा ओलीले सन् १९४७ मा ब्रिटेन, भारत तथा नेपालबीच भएको त्रिपक्षीय सन्धियता परिस्थिति निकै बदलिइसकेकाले त्यसको पुनरवलोकन गर्नुपर्ने भनाइ राखेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले बीबीसीलाई बताए।
प्रधानमन्त्री ओलीले गोर्खा सैनिकहरू नेपाल र ब्रिटेनबीचको सम्बन्धमा सबैभन्दा स्पष्टसँग देखिने कडी भएको बताएका थिए।
उनले भूतपूर्व गोर्खा सैनिकहरूका केही मागलाई सम्बोधन गरेकोमा ब्रिटिश सरकारलाई धन्यवाद दिँदै ब्रिटिश जनता र राजमुकुटप्रति गोर्खालीहरूको अद्वितीय सेवालाई ख्याल गर्दै उनीहरूका मागप्रति ध्यान दिन आग्रह पनि गरेका थिए।
त्यसको उत्तरमा प्रधानमन्त्री मेले ब्रिटिश गोर्खा सैनिकहरूको ऐतिहासिक योगदानको प्रशंसा गर्दै यो विषयबारे आफ्ना उत्तराधिकारीलाई जानकारी गराउने बताइन्।
ब्रिटिश प्रधानमन्त्री टरिजा मेले गत सातामात्रै सत्तारूढ कन्जर्भेटिभ पार्टीको नेता पदबाट राजीनामा दिएकी थिइन्। अब केही सातापछि चुनिने सत्तारूढ दलका नयाँ नेता ब्रिटेनको नयाँ प्रधानमन्त्री हुनेछन्।
गोर्खा मुद्दा

भूतपूर्व गोर्खा सैनिकहरूले निवृत्तिभरण आदि विषयमा आफूहरूलाई भेदभाव गरिएको बताउँदै आफ्ना मागहरू सम्बोधन नगरिए फेरि नयाँ चरणको आन्दोलन थाल्ने चेतावनी दिँदै आएका छन्।
तर ब्रिटिश सरकारले भूतपूर्व गोर्खा सैनिकहरूप्रति भेदभाव भएको भन्ने आरोपलाई अस्वीकार गर्दै आएको छ।
उसले गत मार्च महिनामा भूतपूर्व गोर्खा सैनिकहरूको पेन्सन ३४ प्रतिशतसम्म बढाइने घोषणा गरेको थियो।
भूतपूर्व गोर्खा सैनिकहरूले भने सन् १९९७ भन्दा अघि सेवानिवृत्त भएका ब्रिटिश सैनिकहरूको तुलनामा आफूहरूले पाउने पेन्सन अझै निकै कम रहेको बताएका छन् ।
प्रधानमन्त्री ओलीले मङ्गलवार बिहान लन्डनस्थित नेपाली दूतावासमा भूतपूर्व गोर्खा सैनिकका विभिन्न संस्थाका अगुवाहरूलाई भेटेका थिए।
भेटघाटमा आफूहरूले गोर्खा सैनिकको विषयमा नेपाल सरकारले ब्रिटेनसँग उच्चस्तरीय वार्ता गर्नुपर्ने, त्यसो नभए गोर्खाहरू सशक्त सत्याग्रह आन्दोलन गर्न बाध्य हुने प्रधानमन्त्री ओलीलाई बताएको गोर्खा अगुवा ज्ञानराज राईले बताए।
राजकुमार ह्यारीसँग भेट
मङ्गलवार नै प्रधानमन्त्री ओली तथा उनकी पत्नी राधिका शाक्यले ओलीले लन्डनस्थित नेपाली दूतावासनजिकै रहेको केन्सिङ्टन प्यालेसमा गएर राजकुमार ह्यारीलाई भेटेका थिए।
The Duke has previously met KP Sharma Oli, on his first official visit to Nepal in March 2016, where he visited communities who had been recently affected by an earthquake.
At the end the trip, The Duke joined Team Rubicon volunteers to help rebuild a remote village. pic.twitter.com/V65DyULVZf
— The Royal Family (@RoyalFamily) June 11, 2019
ब्रिटिश राजपरिवारका सदस्य ह्यारीले झन्डै तीन वर्षअघि नेपालको भ्रमण गरी गोर्खा जिल्लामा भूकम्पबाट भत्किएको एउटा विद्यालय पुनर्निर्माण गर्न सघाएका थिए।
अफगानिस्तानमा तैनाथ ब्रिटिश सेनामा कार्यरत गोर्खा सैनिकहरूसँगै केही दिन बिताएका राजकुमार ह्यारीले सार्वजनिक रूपमै गोर्खा सैनिकहरुको प्रशंसा गर्ने गरेका छन्।
यसअघि प्रधानमन्त्री ओली स्विट्जरल्यान्डको जिनेभामा अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ) स्थापनाको सय वर्ष पुगेको अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गरी सोमवार लन्डन आइपुगेका थिए।
मङ्गलवार प्रधानमन्त्री ओलीले लन्डनस्थित नेपालो दूतावासमा गैरआवासीय नेपाली सङ्घका अगुवाहरूलाई पनि भेटेका थिए।
गैरआवासीय नागरिकता
भेटमा गैरआवासीय नेपाली सङ्घका केन्द्रीय उपाध्यक्ष कुल आचार्यले नेपालको संसद्मा विचाराधीन नागरिकतासम्बन्धी विधेयकमा रहेको गैरआवासीय नेपाली नागरिकताको प्रावधानलाई छिटो, छरितो र झन्झटमुक्त बनाउन आग्रह गरेका थिए।
त्यस्तै गैरआवासीय नेपाली सङ्घ युकेका अध्यक्ष योगकुमार फगामीले ‘नेपाल भ्रमण वर्ष २०२०’ का अवसरमा नेपाल वायुसेवा निगमको लन्डन-काठमाण्डू सीधा हवाइसेवा सञ्चालन गर्न माग गरेका थिए।
बुधवार बिहान लन्डनस्थित नेपाली दूतावासद्वारा आयोजित समारोहमा सहभागी भएर ओली भूमिगत रेलबाट लन्डनबाट फ्रान्सको प्यारिस जानेछन्।
प्रधानमन्त्री ओलीको आउँदो आइतवार स्वदेश फर्कने कार्यक्रम छ ।


















