लण्डन(संयुक्त अधिराज्य),९ आषाढ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गतको ३१ औं खेलमा बंगलादेशले अफगानिस्तानलाई ६२ रनले पराजित गरेको छ।
रोज बल स्टेडियममा भएको खेलमा टस हारेर ब्याटिंग गरेको बंगलादेशले ५० ओभरमा ७ विकेट गुमाएर २ सय ६२ रन बनाएको थियो।
२ सय ६३ रनको लक्ष्य पछ्याउने क्रममा अफगानिस्तानले निर्धारित ५० ओभरको खेलमा ४७ ओभरमा सबै विकेट गुमाएर २ सय रन मात्र बनाउन सक्यो।
अफगानिस्तानको लागि समीउल्लाह शिनवारले अविजित ४९ रन, गुल्बदीन नैबले ४७, रहमत शाले २४, नजीबुल्लाह जद्रानले २३ तथा असघर अफ्घानले २० रन बनाए। एक समय १३२ । ६ को अवस्थामा रहेको अफगानिस्तानलाई नाजिबुल्लाह र समीउल्लाहले सातौँ विकेटको लागि ५६ रनको साझेदारी गर्दै जित संघारतिर डोर्याएका थिए ।
बंगलादेशका शाकिब अल हसनले ५ विकेट लिंएपछि अफगानिस्तानको आशामा तुषारापात भएको थियो । शकिबले १० ओभरमा १ मेडन ओभर गर्दै मात्र २९ रन खर्चेर ५ विकेट झारेका थिए । यस्तै मुस्तफिजुर रहमानले २ तथा मोहम्मद सैफुद्दीन र मोसद्द्क होसेनले १ ।१ विकेट लिए।
यस अघि पहिले ब्याटिंग गर्ने क्रममा बंगलादेशको लागि मुस्फिकुर रहिमले सर्वाधिक ८३, शकिब अल हसनले ५१ रन बनाएका थिए। शकिब र मुस्फिकुरले तेश्रो विकेटको लागि ६१ रनको साझेदारी गरेका थिए।
अफगानिस्तानको बलिंगमा मुजिब उर् रहमानले सर्वाधिक ३ विकेट तथा गुल्बदिन नैबले २ तथा दौलत जद्रान र मोहम्मद नबिले १ । १ विकेट लिए।
यो जितसंगै बंगलादेश विश्वकप अंकतालिकाको पाँचौ स्थानमा उक्लेको छ र सेमिफाइनल पुग्ने सम्भावनालाई जीवितै राखेको छ। ७ खेलमा बंगलादेशले ३ जित, ३ हार र १ खेलमा अंक बाँडेर ७ अंक कमाएको छ।
World Cup
| TEAM | M | W | L | PT | NRR |
|---|---|---|---|---|---|
| NZ | 6 | 5 | 0 | 11 | 1.306 |
| AUS | 6 | 5 | 1 | 10 | 0.849 |
| INDIA | 5 | 4 | 0 | 9 | 0.809 |
| ENG | 6 | 4 | 2 | 8 | 1.457 |
| BDESH | 7 | 3 | 3 | 7 | -0.133 |
| SL | 6 | 2 | 2 | 6 | -1.119 |
| PAK | 6 | 2 | 3 | 5 | -1.265 |
| WI | 6 | 1 | 4 | 3 | 0.19 |
| SA | 7 | 1 | 5 | 3 | -0.324 |
| AFG | 7 | 0 | 7 | 0 | -1.634 |
प्रतियोगितामा यस अघि बंगलादेशले वेस्ट इन्डीज र दक्षिण अफ्रीकालाई पराजित गरेको थियो। बंगलादेशले अब भारत र पाकिस्तानसंग गरि २ वटा खेल खेल्न बाँकी रहेको छ।
शाकिबले राखे कीर्तिमान
- खेलमा अत्यन्त उत्कृस्ट बलिंग गर्ने क्रममा ५ विकेट लिएका शाकिबले १० ओभरमा मात्र २९ रन खर्चिए।
- एकै एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ५ विकेट र अर्धशतक समेत बनाउने शकिब पहिलो बंगलादेशी क्रिकेटर बनेका छन्। यस्तै युबराज सिंह पछि विश्वकपमा अर्धशतक र ५ विकेट लिने उनी दोश्रो क्रिकेटर बनेका छन्।
- विश्वकप इतिहासमा बंगलादेशी खेलाडीले ५ विकेट लिएको यो नै पहिलो अवसर हो।
- विश्वकप क्रिकेट इतिहासमा १००० रन माथि र ३० भन्दा बढी विकेट लिने शाकिब विश्वकै पहिलो क्रिकेटर बनेका छन्।
- शाकिबको स्पेल विश्वकप क्रिकेट इतिहासमा उत्कृस्ट हो। विश्वकपमा ५ विकेटभन्दा बढी कुनै स्पिनरले लिन सकेका छैनन्।
- एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमा शाकिबको स्पेल बंगलादेशी स्पिनरको इतिहासकै उत्कृस्ट हो। सन् २००९ मा अब्दुर रज्जाकले जिम्बाबे बिरुद्ध पनि २९ रन दिएर ५ विकेट लिएका थिए ।
विश्वकपमा उत्कृस्ट लयमा रहेका शकिबले इंग्ल्याण्ड र वेस्ट इन्डिजसंग गरि २ वटा शतक प्रहार गरिसकेका छन्। ६ खेलमा कुल १० विकेट लिएका शाकिबले कुल ४ सय ७६ रन बनाइसकेका छन्।


















