काठमाडौं, १० आषाढ । यही आषाढ १७ देखि मलेशियामा आयोजना हुने एसीसी अन्डर नाइन्टिन इस्टर्न रिजन खेल्ने नेपाली टीमको घोषणा भएको छ।
मंगलबार सार्वजनिक गरिएको १४ सदस्यीय टोलीमा खड्कबहादुर बोहोरा, तिलकराज भण्डारी, विशाल विक्रम के.सी र लोकेशबहादुर बम पहिलो पटक समाविष्ट भएका छन् भने यस अगाडि टीममा पर्दै आएका आसिफ शेख, सूर्य तामाड.,सन्दीप जोरा र आकाश चन्द वैकल्पिक खेलाडीको सूचीमा रहेका छन् ।
रोहित पौडेलको कप्तानीमा रहेको टोलीका अन्य सदस्यहरुमा पवन सरार्फ, कमल सिंह ऐरी, रित गौतम, हरिबहादुर चौहान, प्रतिस जिसी, रसिद खान, भिम सार्की, सागर ढकाल र कुशल मल्ल रहेका छन ।
असार १७ देखी २५ सम्म मलेसियामा हुने ५० ओभरको प्रतियोगितामा नेपाल रहेको समुह ए मा सिंगापुर, म्यानमार र चीन छन । समुह बी मा हङकङ, मलेसिया, थाइल्यान्ड र भुटान छन । नेपालले आफ्नो पहिलो खेल १७ गते म्यानमार संग खेल्नेछ ।
नेपाली यु १९ क्रिकेट टिमले गएको अप्रिलमा मलेसियामा आयोजित यु १९ विश्वकप छनौट (एसिया) प्रतियोगिता खेलेको थियो। त्यस प्रतियोगितामा राम्रो प्रदर्शन गरे पनि बर्षाको कारणबाट रोकिएको युएईसंगको खेल डीएल मेथडबाट नतिजा निकाल्दा १ रनको दुर्भाग्यपूर्ण गणितले नेपाली टीम पराजित घोषणा भयो र विश्वकप छनौट हुन असफल भयो। विश्वकप खेल्ने मौका युएईले पायो।
नेपालले एसटीसी ओभल मैदानमा जुलाई २ मा म्यानमारसंग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ। यस्तै दोश्रो खेल जुलाई ५ तारिकमा किनरारा ओभल मैदानमा सिंगापुरसंग, तेश्रो खेल जुलाई ६ तारिकमा बायुमास ओभलमा चीनसंग खेल्ने छ। खेलहरु मलेसियाको स्थानीय समय १० बजे अर्थात नेपाली समय ७ : ४५ बजे बिहान सुरु हुनेछ।
प्रतियोगिताको उत्कृष्ट दुई टीमले श्रीलंकामा जुलाई अगष्ट आयोजना हुने यु १९ एसियाकप खेल्न पाउने छ। उक्त प्रतियोगितामा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान जस्ता एसियाली टेष्ट राष्ट्र सहित इस्टर्न र वेस्टर्न क्वालीफायरबाट आएकासहित ८ टिम सहभागी हुनेछन्।



















