काठमााडौं, १४ आषाढ । सिंगापुरमा हुने आईसीसी टी-२० विश्वकप २०२० को एशिया छनौट खेलपूर्व नेपाल र मलेसियाबीच टी-२० अन्तर्राष्ट्रिय खेल हुने भएको छ ।
खेल जुलाई १३ र १४ मा मलेसियाको किनरारा ओभल मैदानमा हुने जनाइएको छ । दुवै खेल मलेसियन समय विहान १० बजे अर्थात् नेपाली समय बिहान ७ : ४५ बजे जानकारी मलेसियन क्रिकेट एसोसिएसनले सार्वजनिक गरेको छ ।
नेपालले र मलेसियाले हालसम्म टी- २० अन्तर्राष्ट्रिय खेलेका छैनन्। अन्तिम पटक गत वर्ष आईसीसी टी-२० विश्वकप छनौट एसिया ‘बि’ क्वालिफायर अन्तर्गत नेपाल र मलेसिया एकापसमा भिडेका थिए। उक्त खेलमा नेपालले मलेशियालाई ८ विकेटले पराजित गरेको थियो ।
नेपाल र मलेसियाबीच हालसम्म ४ वटा टी- २० खेल भएका छन् । जसमा नेपालले ३ पटक जितेको छ भने मलेसिया एक पटक जितेको छ । नेपालले सन् २००७ एसीसी टी-२० मा २१ रनले , सन् २०१३ एसीसी टी-२० मा १९ रनले तथा सन् २०१८ टी- २० विश्वकप छनौटमा ८ विकेटले मलेशियालाई पराजित गरेको थियो। सन् २००९ एसीसी टी- २० मा भने मलेसियाले नेपाललाई ६ विकेटले पराजित गरेको थियो ।
नेपाल क्रिकेट एशोसिएसनको संस्थागत संरचना लथालिंग भएकोले एकदिवसीय अन्तराष्टियको मान्यता पाए पनि नेपालले अन्तराष्टिय स्तरका खेलहरु खेल्न पाएको छैन । गएको जनवरी फेब्रुवरीमा युएईसंग खेलेको टी- २० र एक दिवसीय खेल खेलेको खेलेको ६ महिना पछि नेपालले बल्ल अर्को टी- २० सिरिज खेल्ने मौका पाएको छ।
युएईसंगको खेलमा भने नेपालले एकदिवसीय र टी- २० दुवै सिरिज सिरिज २-१ ले जित्दै इतिहास रचेको थियो।
नेपाल र मलेसियाले जुलाई २० देखि २८ तारिकसम्म सिंगापुरमा आईसीसी टी-२० विश्वकप छनौट (एसिया फाइनल) खेल्दै छन्।
नेपाली क्रिकेट टिम हाल टियु मैदान किर्तिपुरमा टी-२० विश्वकप छनौट (एसिया फाइनल)को तयारीमा व्यस्त रहेको छ। टिमलाई नवनियुक्त प्रशिक्षक उमेश पटवालले प्रशिक्षण गराइरहेका छन्।
प्रतियोगिताको लागि बन्दसत्रमा प्रारम्भिक टिममा परेका पारस खड्का (कप्तान) , अविनाश बोहरा, अमित श्रेष्ठ, बसन्त रेग्मी, भिम शार्की, बिनोद भण्डारी, दिपेन्द्र ऐरी, ज्ञानेन्द्र मल्ल, जितेन्द्र मुखिया, करन केसी, कुशल भुर्तेल, ललित भण्डारी, ललित राजबंशी, आरिफ शेख, नन्दन यादब, पवन सर्राफ, प्रदीप ऐरी, राजु रिजाल, रोहित पौडेल, सन्दीप लामिछाने, शाहब आलम, शरद भेसावकर, सोमपाल कामी, सन्दीप जोरा र सुशन भारी प्रशिक्षणमा रहेका छन् ।
मलेसियासंग १३ र १४ जुलाईमा टी- २० अन्तर्राष्ट्रिय खेलेपछि नेपाली टीम टी- २० विश्वकप छनौट एसिया फाइनल खेल्न सिंगापुर प्रस्थान गर्नेछ। खेलमा नेपालसहित आयोजक सिंगापुर, कतार, कुवेत, मलेसिया सहभागी हुनेछन्।
नेपालले २३ जुलाईमा कतारसंग इण्डियन एसोसिएसन मैदानमा खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ। यस्तै २४ जुलाईमा मलेसियासंग, २७ जुलाईमा कुवेतसंग र २८ जुलाईमा सिंगापुरसंग खेल्ने तालिका रहेको छ।
नेपाल छानिने संभावना
यो समूह चरणमा नेपाल छानिने संभावना बलियो छ । टी-२० विश्वकप एसिया फाइनल प्रतियोगिताको शीर्ष स्थानमा पर्न सके नेपाल ग्लोबल क्वालिफायर खेल्न छनौट हुनेछ। ग्लोबल क्वालिफायर अक्टोबर ११ देखि ३ नोभेम्बरसम्म युएईमा आयोजना हुनेछ।
ग्लोबल क्वालिफायरमा नेपाल छनौट भएमा नेपालले विश्वका अन्य क्षेत्रको छनौट प्रतियोगिताबाट आएका ६ वटा टिम सहित स्कटल्याण्ड, जिम्बाबे, नेदरल्याण्ड, हंगकंग, ओमान, आयरल्याण्ड र आयोजक युएईसंग प्रतिस्पर्धा गर्नेछ।
कुल १४ टिम सहभागी हुने ग्लोबल क्वालिफायरबाट उत्कृष्ट हुने ६ वटा टीम २०२० अक्टोबरमा अस्ट्रेलियामा आयोजना हुने टी २० विश्वकप खेल्न छनौट हुनेछ।


















