बेशीसहर(लमजुड.), ८ साउन ।लमजुङको दोर्दीखोलामा आएको बाढीका कारण कम्तीमा चार जनाको मृत्यु भएको त्यहाँका प्रमुख जिल्ला अधिकारीले बताएका छन्।
बाढीले लिबर्टी हाइड्रोपावर कम्पनीद्वारा निर्माणाधीन दोर्दी ए जलविद्युत परियोजनाको नदीमा निर्मित संरचना बगाएको बताइएको छ।
उक्त परियोजनामा कार्यरत एघार जना हराईरहेको त्यहाँका प्रमुख जिल्ला अधिकारी डिजन भट्टराईले बताए।
“फेला पारिएका शव हराइरहेका भनिएका मध्येका हुन् वा होइनन् भन्ने स्पष्ट भइसकेको छैन,” घटनास्थलमा रहेका प्रमुख जिल्ला अधिकारी भट्टराईले बताए।
आशङ्का
लमजुङ सदरमुकाम बेसिशहरबाट झण्डै ३० किलोमिटर उत्तरपूर्वमा रहेको उक्त खोलाको माथिल्लो भागमा खोला थुनिएर त्यसरी बाढी हुनसक्ने आशङ्का गरिएको दोर्दी गाउँपालिका अध्यक्ष ओमबहादुर गुरूङ्ले बताए।
गुरूङ्ले भने, “घटनामा कामदारबाहेक स्थानीयहरू समेत हराएको भन्ने खबर आएको छ।”
उक्त खोलामा अन्य चारवटा जलविद्युत परियोजनाहरू रहेकामा तीनका समेत निर्माण सामग्री र उपकरणहरू बगाएको बताइएको छ।
बुधवार दिउँसोको यो घटनासँगै जारी मनसुनी विपतमा ज्यान गुमाउनेको सङ्ख्या १०९ पुगेको गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले बताए।(बीबीसीबाट )


















