भैरहवा(रुपन्देही), २ भाद्र । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिस्ट सरकारबाटै प्रजातन्त्र र संविधानमाथि खतरा उत्पन्न भएको बताउनुभएको छ ।
नेपाली कांग्रेसको केन्द्रीय नीति,अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा सोमबारदेखि प्रदेश नं ५ को भैरहवामा आयोजित प्रशिक्षण कार्यक्रममा कांग्रेस सभापति देउवाले सो कुरा बताउनुभएको हो । उहाँले सरकारले प्रजातान्त्रिक मूल्य, मान्यता र संविधानको मर्म बिपरित कम्युनिस्ट अधिनायकबाद र निरङ्कुशता लाद्न खोजेका आरोप लगानुभयो ।
उहाँले आफूले निर्वाचनको समयमा कम्युनिस्टहरु सत्तामा आए बोल्न र रुन पनि पाइँदैन भनेकोमा आश्चर्य प्रकट गर्ने नेता र कार्यकर्ताहरुलाई सोध्दे भन्नुभयो,सरकारले न्यायालय, प्रेस र मानवअधिकारमाथि गर्न खोजेको हस्तक्षेप र नियन्त्रणले सरकारको नियत स्पष्ट भएको छ । सरकार प्रजातान्त्रिक मूल्य र मान्यता सिध्याउने दिशामा अगाडि बढेको छ
कांग्रेस सभापति देउवाले लोकतान्त्रिक गणतन्त्र र संविधान विपरीत चालिएका यस्ता कदमका विरुद्धमा नेपाली कांग्रेसले संघर्ष गर्र्ने चेतावनी पनि दिनुभयो।
उहाँले ‘विकास, सुशासन र शान्तिसुरक्षाको सवालमा असफल भइसकेको सरकारले जनतालाइ करै करको उपहार दिएको पनि बताउनुभयो ।
उद्घाटन समारोहमा कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा गुट उपगुट अन्त्य गर्न न्याय निश्पक्षता र पारदर्शीता हुनुपर्ने बताए। पौडेलले कम्युनिष्ट सरकारले प्रजातान्त्रिक मूल्य मान्यता र संविधानको मर्ममाथि नै प्रहार गरिरहेको बताउनुभयो। उहाँले कम्युनिस्टसंग राष्ट्र निर्माणको कुनै दृष्टिकोण र विकासका प्राथमिकता छुट्याउने क्षमता नरहेको आरोप लगाउदै समृद्ध राष्ट्र निर्माणको दृष्टिकोण काँग्रेससंग मात्रै रहेको दाबी गर्नुभयो। सरकारी ढुकुटी बाँडेर आफना नेता कार्यकर्ता पोस्ने र नयाँ बर्ग जन्माउने अभियानमा सरकार लागेको आरोप पनि उहाँले लगाउनुभयो ।
पार्टीका उपसभापति विमलेन्द्र निधिले काँग्रेसले बनाएको समावेशी संविधान र प्रजातान्त्रमाथि सबैभन्दा ठुलो खतरा सरकार र सरकारकै दलबाट देखिएको बताउनुभयो ।
पार्टीका अर्का उपसभापति बिजयकुमार गच्छदारले बाटो बिराएर दश बर्ष बाहिर बस्दा पनि देश र जनताको हित नेपाली काँग्रेसले नै गर्न सक्छ भन्ने विश्वास कहिल्यै नडगमगाएको बताउनुभयो।
काँग्रेस केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाले सरकारले संवैधानिक मूल्य मान्यता र परम्परालाई मिचेर कम्युनिष्ट शैलीले शासन चलाएको बताउनुभयो ।
कार्यक्रममा काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले प्रजातन्त्र र संविधानको रक्षाका लागि शान्तिपूर्ण संघर्ष गर्नुपर्ने अवस्था आएको बताउनुभयो ।
संसदीय दलका सचेतक पुष्पा भूसालले कम्युनिष्ट सरकारले संघियता स्वीकार गर्न नसकेको र लोकतन्त्रलाइ कमजोर बनाउने काम गरिरहेको आरोप लगाउनुभयो ।
शुक्रबार गण्डकी प्रदेशको पोखराबाट सुरू भएको कार्यक्रम सोमबारदेखि प्रदेश नम्बर ५ को भैरहवामा चल्दैछ। कांग्रेसले सातै प्रदेशमा महासमिति,महाधिवेशन प्रतिनिधि र जिल्ला सभापतिहरुलाई दुई दिने प्रशिक्षण दिने कार्यक्रम अन्तरगत यो प्रशिक्षण सञ्चालन गरिरहेको छ ।


















