Prakash Adhikari August 26, 2019

भरतपुर(चितवन),९ भदौं । रवि लामिछानेका पक्षमा चितवनमा दैनिक उपस्थित भएर नारा जुलुससहित समर्थन जनाउने प्रदर्शनकारीलाई नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय चितवनले जिल्ला अदालत आसपासको क्षेत्रमा  निषेधाज्ञा नै जारी गरेको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनले आइतबार साँझ नै निषेधाज्ञा जारी गरेको हो ।

जिल्ला प्रशासन कार्यालयको सूचना अनुसार सोमबार बिहान ६ बजेबाट लगाइएको सो कफ्र्यू अर्को सूचना जारी नभएसम्म जारी रहनेछ । सूचनामा जनाइए अनुसार हुलदंगा वा अशान्ति गर्ने उद्देश्यले ५ जनाभन्दा बढी एकै ठाउँमा भेला हुन पाइने छैन ।

Image may contain: text
स्थानीय प्रशासनले तोकेको निषेधाज्ञा लागू हुने चार किल्लामा पूर्वतर्फ बाइपास सडकतर्फ आन्तरिक राजश्व कार्यालयको चोकदेखि घरेलु कार्यालयको चोकसम्म,पश्चिमतर्फ लोकमार्गको सप्तगण्डकी अस्पताल चोकदेखि चौबिसकोठी चोकसम्म, उत्तरतर्फ बाइपास सडकको अन्तरिक राजश्व कार्यालय चोकदेखि भरतपुर अस्पताल, पुरानो मेडिकल कलेज जाने चोक, नारायणी मावि, कृषि ज्ञान केन्द्र हुँदै पूर्वपश्चिम लोकमार्गको चौबिसकोठी चोकसम्म र दक्षिणतर्फ बाइवपास सडकतर्फ घरेलु कार्यालयको चोकदेखि दूरसञ्चार चोक हुँदै पूर्व पश्चिम लोकमार्गतर्फ सप्तगण्डकी अस्पताल चोकसम्मको क्षेत्र रहेको छ ।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को ३ कअनुसार यो आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताएका छन् । ऐन अनुसार यसको उल्लंघन गर्नेलाई प्रजिअले ५०० सम्म जरिवाना वा एक महिनासम्म कैद वा दुबै सजाय तोक्न सक्नेछ ।

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा टेलिभिजन प्रस्तोता रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीविरुद्ध आत्महत्या दुरुत्साहको मुद्दा दर्ता भएको छ ।

सो मुद्दामा आज सोमबार बयान तथा थुनछेक बहस हुनेछ ।

पुडासैनीको आत्महत्या संदेहास्पद भएको र रवि लामिछाने सहितका आरोपितहरु निर्दोष भएको बताउदै चितवनमा निश्पक्ष न्यायको लागि लगातार प्रदर्शन हुँदै आएको छ ।

चितवनमा भएको प्रदर्शनमा पटक पटक प्रहरी र प्रदर्शनकारीबीच झड्प पनि भैरहेको छ ।

Share Now

Leave a comment.