Prakash Adhikari January 7, 2018

लाहोर(पाकिस्तान), २३ पौष । पाकिस्तान र युएईको दुबईमा एकसाथ सोमबारदेखि सञ्चालन हुने पाँचौँ दृष्टिबिहिन विश्वकप क्रिकेटको ट्रफी शनिबार लाहोरस्थित पर्ल कन्टिनेन्टलमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको छ ।

नेपालका कप्तान किर्तन श्रेष्ठ , पाकिस्तानका कप्तान निसार अलि, बंगलादेशका कप्तान तान्जिलुर रहमान र विश्व दृष्टिबिहिन क्रिकेट लिमिटेडका पूर्व अध्यक्ष सुल्तान साह लगायतले विश्वकपको ट्रफी सार्वजनिक गरेका थिए ।

भारतको विदेश मन्त्रालयले सुरक्षाको कारण देखाउदै आफ्नो टीमलाई पाकिस्तानमा खेल्न अनुमति नदिएपछि भारतीय टीमले दुबईमा खेल्दैछ । त्यसैले विश्वकप ट्रफी ३ राष्ट्रका कप्तानले मात्र सार्वजनिक गरेका थिए । दुबईमा अस्ट्रेलिया, भारत र श्रीलंकाले विश्वकप खेल्ने भएका छन् ।

सो अवसरमा नेपालका कप्तान किर्तनले आफ्नो टीमले निकै संंघर्ष गरेर विश्वकप यात्रा तय गरेको स्मण गर्दै विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य लिएको बताए । उनले भने ‘हामीले सीमित श्रोत साधनका बावजुद राम्रो तयारी गरेका छौँ । आशा छ, त्यही अनुरुप नतिजा पनि लोभ लाग्दो नै रहनेछ ।’

नेपालका प्रशिक्षक रिजन प्रजुले भने ‘हामी जित्नकै लागि आएका हौँ । हामीले करिब ४ दिनसम्म बसको यात्रा गरेर आएका छौँ । शारिरिक रुपमा हामी निकै थकित भएका छौँ । यद्यपि, जित निकाल्न हामी संघर्षरत छौँ । ४० ओभरको खेल छ, हामीले सम्हालिएर खेल्यौँ भने जित निकाल्ने छौँ ।’

ट्रफी सार्वजनिक कार्यक्रममा पाकिस्तानका कप्तान निसारले देशले निकै संघर्षका साथ विश्वकप आयोजना गरेकोमा प्रशंसा गर्दै भने ‘हामीले राम्रो तयारी गरेका छौँ । त्यसैले उपाधि देशमा सुरक्षित हुनेछ ।’

बंगलादेशका कप्तान रहमानले विश्वकपको राम्रो तयारीका लागि पाकिस्तानलाई धन्यवाद दिँदै भने ‘ हामीसँग करिब ६ जना खेलाडी नयाँ छन्, जुन निकै प्रतिभाशाली छ । आशा गर्छौँ, पक्कै पनि बंगलादेशको यस विश्वकपमार्पmत उदय हुनेछ ।’

परिवर्तित खेल तालिका

भारतको पाकिस्तान भ्रमण अन्तिम समयमा परिवर्तन भएपछि विश्वकपको खेल तालिका पनि परिवर्तन भएको छ । यसअघि तय भएअनुसार नेपालले पहिलो खेल बंगलादेशसँग ८ जनवरीमा लाहोरमा खेल्ने थियो । तर, तालिका परिवर्तन भएपछि अब नेपालले पहिलो खेल ९ जनवरीमा आयोजक राष्ट्र पाकिस्तानसँग जिन्नाह स्टेडियम गुज्रानवालामा खेल्ने भएको छ ।

दोस्रो खेल १० जनवरीमा बंगलादेशसँग इकबाल स्टेडियमा खेल्नेछ । ११ जनवरीमा भने नेपाल दुबई प्रस्थान गर्नेछ । १३ जनवरीमा दुबईको अजमान ओभल क्रिकेटमा ग्राउन्डमा तेस्रो खेल श्रीलंकासँग खेल्नेछ । १४ जनवरीमा नेपालले अजमानकै इडन गार्डेनमा डिफेन्डिङ च्याम्पियन भारतसँग खेल्नेछ ।

लिगको अन्तिम खेल नेपालले १५ जनवरीमा अजमानको एमसिसी क्रिकेट ग्राउन्डमा बलियो टोली अस्ट्रेलियाविरुद्ध आफ्नो चुनौती प्रस्तुत गर्नेछ ।

प्रतियोगितामा नेपाल सहित पाकिस्तान, भारत, श्रीलंका, बंगलादेश, अस्ट्रेलिया गरि ६ रास्ट्रको सहभागिता रहने  छ ।

सहभागी ६ टिमबाट लिग अंक तालिकाको शिर्ष ४ भित्रमा रहने टिमले सेमीफाइनलको यात्रा गर्नेछ।

 

 

विश्वकपको फाइनल हुने स्थान यसअघि पाकिस्तान भएपनि परिमार्जन भएको छ ।

भारतबाहेकको एसिया राष्ट्र विश्वकपको फाइनलमा पुगेमा फाइनल खेल पाकिस्तानमा हुनेछ । तर, अस्ट्रेलिया अथवा भारत पुगेमा फाइनल खेल दुबईमा हुनेछ । फाइनल खेल १८ जनवरीमा दुबई अथवा पाकिस्तानको लाहोरमा हुनेछ ।

 

पाकिस्तान सरकारले नेत्रहीन बिश्वकप खेल्ने टिमहरुलाई कडा सुरक्षा ब्यबस्था तथा यात्रा गर्दा बुलेटप्रुफ बसको ब्यबस्था गर्दै सुरक्षाको प्रत्याभूति दिलाएको छ ।

नेपालको दृष्टिबिहिन बिश्वकप इतिहास

प्लेनमा जान नसकेको र रेल छुटेको नेपाली टीम बसको यात्राबाटै प्रतियोगितामा सहभागिता जनाउन शुक्रबार पकिस्तान पुगीसकेको छ । टीम लाई आयोजकले भव्यताका साथ स्वागत गरेको छ। नेपाली टीम को कप्तानी किर्तन श्रेष्ठले गर्नेछन्। टीम को प्रशिक्षण रिजन प्रजुले गर्नेछन्।

नेपालले सन् २०१२ र २०१७ गरि २ पटक टि-२० बिश्वकप मा सहभागिता जनाईसकेको छ। एकदिवसीय बिश्वकपमा भने नेपालको सहभागिता पहिलो पटक हो। नेपाल टि-२० बिश्व कपको दुवै संस्करणको पहिलो चरणबाटै बाहिरिएको थियो।

गत बर्ष भारतमा सम्पन्न टि-२० बिश्वकपमा नेपालले न्युजिल्याण्ड र दक्षिण अफ्रीकालाई पराजित गरेको थियो। सो बिश्वकपमा नेपाली खेलाडी पदम बडेलले न्युजिल्याण्डबिरुद्ध दोहोरो शतक प्रहार गरेका थिए । उक्त दोहोरो शतक दृष्टिबिहिन क्रिकेटको इतिहासकै पहिलो दोहोरो शतक थियो ।

सन् १९९६ देखि आयोजना थालिएको एकदिवसीय बिश्वकपको प्रथम संस्करणको उपाधि दक्षिण अफ्रीकाले जितेको थियो भने त्यसपछि सन् २००२ र २०१४ को उपाधि भारतले तथा सन् २००६ को उपाधि पाकिस्तानले जितेको थियो।

Share Now

Leave a comment.