काठमाडौं,१२ भाद्र । यु -१५ उमेर समूहका खेलाडी बीच भएको दक्षिण एशियाली राष्ट्र्हरुको फूटबल प्रतियोगिता (साफ) च्याम्पियनशीप अन्तरगत बिहिबार सम्पन्न खेलमा नेपालले भुटानमाथि ६–० को शानदार जित निकाल्दै फाइनल यात्रा पनि तय गरेको छ ।
यसअघि नेपालले भुटानलाई हराए तापनि बिहीबार नै हुने भारत र बंगलादेशको खेलको नतिजापछि मात्र नेपालको फाइनल प्रवेशको टुँगो लाग्ने बताइएको थियो ।
यद्यपि ४ खेलबाट ९ अंक जोडेको नेपाल दोस्रो स्थानमा रहँदै भारतसँगै फाइनलमा प्रवेश गर्न सफल भयो । उता ३ खेलबाट ६ अंक जोडेको बंगलादेशको पनि फाइनल प्रवेशको सम्भावना कायम थियो । अब बंगलादेशले भारतलाई हराएर नेपालसँगै समान ९–९ अंक बटुले पनि त्यसले कुनै अर्थ राख्ने छैन ।
किनकि लिग चरणतर्फ बंगलादेशले भुटानलाई ५–२ ले हराएको थियो । जबकि नेपालले बिहीबार भुटानमाथि ६–० को स्पष्ट जित निकाल्यो । यो नतिजासँगै नेपाल हेड टु हेडका आधारमा बंगलादेशलाई पछि पार्दै फाइनलमा प्रवेश गर्न सफल भयो ।
बिहीबारको त्यो नतिजापछि ६ अंक जोडेको साविक विजेता बंगलादेश, ३ अंक जोडेको श्रीलंका र अंकविहीन भुटान प्रतियोगिताबाट बाहिरियो । अब उपाधिका लागि नेपालले भारतसँग आउँदो शनिबार फाइनल खेल्नेछ ।