Prakash Adhikari August 29, 2019

 

कोलम्बो(श्रीलंका),१२ भाद्र । नेपाली अन्डर१९ क्रिकेट टिमले श्रीलंकामा भएको दोश्रो अभ्यास खेलमा स्थानीय बदुरलिया क्रिकेट क्लबलाई ८० रनले पराजित गरेको छ।

पहिले ब्याटिंग गरेको नेपालले ४६.४ ओभरमा सबै विकेट गुमाएर २ सय ६ रन बनाएको थियो। नेपालको इनिंगको क्रममा खेल वर्षाले २ घण्टा रोकिएको हुँदा दोश्रो इनिंगको खेल घटाएर ३१ ओभरको बनाइयो । डीएल मेथड अनुसार ३१ ओभरमा १ सय ६५ रनको लक्ष्य तय गरियो।
१ सय ६५ रनको लक्ष्य पछ्याउने क्रममा बदुरलियाले २३.१ ओभरमा ८४ रन जोड्दै सम्पूर्ण विकेट गुमाउन पुग्यो र नेपाली टीमले ८० रनको विशाल अन्तरले खेल जित्यो ।

बदुरलियाका ब्याट्सम्यानहरुले आजको खेलेमा ठूलो साझेदारी गर्न सकेनन्। नेपाली स्पिनरहरु बदुरलियामाथि हावी हुन पुगे।

बलिड.मा नेपालका सागर ढकाल एक्लैले ५ विकेट लिए भने पवन सर्राफले २ विकेट लिए। तीब्र गतिका बलर कमल ऐरीले २ विकेट लिए भने कुशल मल्लले १ विकेट लिए।

यस अगाडि खेलमा टस जितेर पहिले ब्याटिंग गर्दै नेपालले ४६.४ ओभरमा सबै विकेट गुमाएर २ सय ६ रन बनाएको थियो ।

सुरुमा नेपालको माथिल्लो क्रमका ब्याट्सम्यानहरुले लगातार विकेट गुमाए । पवन सर्राफ खाता नखोली पहिलो ओभरमै आउट भएपछि नेपालको विकेट पतन सुरु भएको थियो। त्यसपछि अघिल्लो खेलमा अर्धशतक बनाएका आसिफ शेख १४ रन, खडक बोहरा २ रन तथा कप्तानरोहित पौडेल ३ रन बनाएर आउट भए। फलस्वरूप नेपालको योगफल आठौँ ओभरमा ३३।४ पुग्यो।

अर्को किनारमा विकेट गुमेता पनि ओपनर रितले धैर्यतापूर्वक ब्याटिंग गरे। छैठौं नम्बरमा ब्याटिंग गरेका सन्दिप जोराले रितको साथ दिए। पाँचौ विकेटको लागि ५२ रनको साझेदारी गरेपछि जोरा रन बनाएर २१ औं ओभरमा आउट भए। सातौँ नम्बरमा ब्याटिंग गर्न आएका हरि बहादुर चौहानले रितलाई राम्रो साथ दिए। छैठौं विकेटको लागि दुवैले १०१ रनको साझेदारी गरे।

रित ७६ रन बनाएर आउट भए भने अर्धशतक पुरा गरेर हरि पनि ५६ रन बनाएर आउट भए। कुशल मल्ल खाता नखोली आउट भए।

४४ औं ओभरमा रित आउट भएपछि भने नेपालले लगातार विकेट गुमाएको थियो। १८६।६ बाट २० रन जोड्दा नेपालले बाँकी ४ विकेट गुमाउन पुग्यो।


यु१९ एसिया कपमा सहभागी हुने क्रममा श्रीलंका पुगेको नेपाली टीमले पहिलो अभ्यास खेलमा नेपाल सिन्हालिज स्पोर्ट्स क्लब यु २३ संगको खेलमा एउटा क्याच गुमाउदा खेलमा ३ विकेटले पराजय भोगेको थियो। नेपालले अब तेश्रो अभ्यास खेल शुक्रबार चिलाउ मरियन्स क्लब बिरुद्ध खेल्नेछ।

नेपाल समुह ‘बी’ मा रहेको छ जुन समुहमा आयोजक श्रीलंका सहित बंगलादेश र युएई रहेका छन्। यस्तै समुह ‘ए’ मा भारत, अफगानिस्तान, पाकिस्तान र कुवेत रहेका छन्। दुवै समुहमा एकअर्का बिरुद्ध एक(एक खेल खेलिसके पछि उत्कृष्ट २ टीम सेमिफाइनल प्रवेश गर्नेछन्।

नेपालले सेप्टेम्बर ६ मा आयोजक श्रीलंका, सेप्टेम्बर ८ मा बंगलादेशसंग र सेप्टेम्बर १० मा युएईसंग तेश्रो खेल खेल्नेछ।

सेप्टेम्बर १२ मा सेमिफाइनल र सेप्टेम्बर १४ मा फाइनल खेलिनेछ।

Share Now

Leave a comment.