![](https://aashanews.com/wp-content/uploads/2017/12/NRB.jpg)
काठमाडौं, २३ पौष । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा देखिएको तरलता अभाव हटाउन वित्तीय बजारमा आज फेरी १० अर्ब पठाउने भएको छ।
वित्तीय बजारमा गत साता मात्रै २५ अर्ब पठाएको बैंकले आइतबार अर्थात पुष २३ मा फेरी १० अर्ब पठाउन लागेको हो।
राष्ट्र बैंकले गत आइतबार ५ अर्ब, बुधबार १० अर्ब र बिहिबार १० अर्ब गरि २५ अर्ब रुपैयाँ वित्तीय बजारमा पठाएको थियो। २५ अर्बले नपुगेपछि केन्द्रीय बैंकले फेरि १० अर्ब बढाएर ३५ अर्ब पुर्याउदै छ ।
बैंक तथा वित्तीय संस्थाहरुसँग रहेको विकास ऋणपत्र खरिद गरेर राष्ट्र बैंकले आइतबार १० अर्ब बैंकिङ प्रणालीमा पठाउन लागेको हो। राष्ट्र बैंकले बजारमा तरलता कायम गर्नका लागि उनीहरुले किनेको ऋणपत्र सोझै खरिदको बोलकबोलको सूचना जारी गरेको छ।
बैंकहरुले पुष २३ गते दिउँसो दुई बजेसम्म आफुसंग भएको बिकास ऋणपत्र के कति मुल्यमा बिक्रि गर्ने हो त्यससम्बन्धि जानकारी राष्ट्र बैंकमा गराउनु पर्नेछ। विकास ऋणपत्रको ब्याजदर भने बोलकबोलबाट तय हुने राष्ट्र बैंकले जनाएको छ ।
लगानी योग्य रकम अभाब भएको भन्दै बैंकहरुले महँगो ब्याजदरमा पैसा उठाउन थालेपछि राष्ट्र बैंकले बैंकहरुसंग रहेका ऋणपत्र खरिद गरेर बैंकहरुलाई रकम उपलब्ध गराउन लागेको हो।
राष्ट्र बैंकले बैंकिङ प्रणालीमा ४७ अर्ब अधिक तरलता रहेको दावी गरेको छ। तर बैंकहरुले भने लगानीयोग्य रकम अभाब भन्दै महँगो ब्याजदरमा पैसा उठाईरहेका छन। नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरिन्जीवी नेपालले बैंकहरुले निक्षेप भन्दा लगानी बढी प्रवाह गरेकाले अहिले समस्या उत्पन्न भएको बताएका छन।
१ खर्ब ६ अर्ब निक्षेप संकलन गरेर १ खर्ब ६७ अर्ब लगानी गर्दा पुंजीको अभाव भएको गभर्नर नेपालको दाबि छ।