Prakash Adhikari September 1, 2019

काठमाडौं,१५ भदौ । सुर्खेतको कटकुवा जंगलको ब्यूरेनी खोलामा वेवारिस रुपमा गाई,गोरु, बाच्छाबाच्छीहरुलाई ट्र्कबाट खसालेर मारिएको घट्नामा गृहमन्त्रालयले छानवीन गर्न उपसचिव सागरमणि पाठकको संयोजकत्वमा चार सदस्यीय  समिति बनाएपछि नेपालगञ्ज उपमहानगरपालिका समस्यामा पर्ने भएको छ ।

गृह मन्त्रालयले गौहत्यालाई गम्भीर अपराध मान्दै संलग्न व्यक्तिहरुलाई कानून बमोजिम हैदसम्म कारबाही गरिने जनाएको छ र उसले गठन गरेको छानवीन समितिलाई दोषीहरुलाई कानूनी कारबाहीको सिफारिस गर्ने म्यान्डेट पाएको दिएको छ । समितिको कार्यावधि १५ दिन रहेको छ ।


नेपालगञ्ज उमहानगरपालिकाले आफ्नो काञ्जी हाउसमा रहेका गाई, गोरु, बाच्छाबाच्छीलाई दैलेखको शिरस्थान लैजान बिहिबार पठाएको र दैलेख सुर्खेत सडकको कटकुवाबाट हिडाएर लैजाने तयारी अनुरुप ट्र्कबाट उतारिएको जनाएको छ । शुक्रबार सुर्खेतको वीरेन्द्रनगर ११ स्थित ब्यूरेनी खोलामा (सडकबाट २० देखि २४ मिटर तल) २४ वटा गाईगोरु मृत  र दर्जनौ गाईवस्तु अलपत्र अवस्थामा  भेटिएपछि स्थानीयले यस घट्नालाई सार्वजनिक गरेका थिए ।

गृहमन्त्रालयको विज्ञप्तिमा ३ सय ७० ओटा गाई गोरु(बाच्छा बाच्छीसहित) नेपालगञ्ज उपमहानगरपालिकाले शिरस्थान लैजान खोजेको उल्लेख छ । प्रहरीले त्यसरी गाईगोरु छाड्ने ५ वटा ट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिइसकेको जनाएको छ ।

१ सय ४२ गाईवस्तु नेपालगञ्ज फिर्ता

यसैबीच राससले दैलेख लैजान भन्दै रातारात सुर्खेतको कटकुवा जङ्गलमा बेवारिसे छाडिएका गाईको उद्वार गरी पुनः नेपालगञ्जतर्फ पठाइएको जनाएको ।

स्थानीय प्रशासनको समन्वयमा वीरेन्द्रनगर नगरपालिकाले बेवारिसे छाडिएका गाईलाई शनिबारदेखि नेपालगञ्ज फिर्ता पठाउन थालेको हो । जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रवि रावलले १सय ४२ वटा गाई नेपालगञ्ज पठाइसकेको जानकारी दिनुभयो । घाइते रहेका कतिपय गाई–गोरुको औषधि उपचार गरी फिर्ता पठाउने तयारी भएको छ ।

कैलालीमा छाडा बस्तुभाउ

नगरपालिकाको पशु स्वास्थ्य शाखाका चिकित्सकको टोलीले शुक्रबार मृत भेटिएका गाईवस्तुको मुचुल्का र परीक्षण गर्नुका साथै घाइतेको उपचार गरिरहेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार मृत गाई–गोरुको सङ्ख्या ३० पुगेको छ । परीक्षण रिर्पोटपछि मात्र गाईको हत्या भएनभएको यकिन हुने प्रहरीको भनाइ छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेको पत्रअनुसार नेपालगञ्ज उप–महानगरपालिकाको काञ्जीहाउसबाट दैलेखको शिरस्थान धार्मिक क्षेत्रमा पठाउने भनी गाईगोरू पठाइएको थियो ।

तर शिरस्थान क्षेत्र पर्ने दैलेखको भैरवी गाउँपालिकाले भने आफ्नो तर्फबाट लिखित मौखिक कुनै माग नगरेको प्रतिक्रिया दिएको छ ।

गाउँपालिका अध्यक्ष प्रेमबहादुर बुढाले आफू वडा कार्यालय र मन्दिर व्यवस्थापन समितिले नेपालगञ्ज उपमहानगरपालिकासँग त्यस्तो कुनै माग नगरेको प्रष्ट पार्नुभएको छ । ‘यहाँ त्यति ठूलो सङ्ख्यामा गाई–गोरु पाल्न सकिने ठाउँ छैन्, भ्रमपूर्ण प्रचार गरिएको छ, शिरस्थान क्षेत्रका लागि कुनै माग भएको छैन्’ उहाँले भन्नुभएको छ ।

भैरवी गाउँपालिका–१ को कार्यालय र शिरस्थान मन्दिर व्यवस्थापन समितिले पनि आफूहरुले गाई–गोरुको माग नगरेको भन्दै घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारवाही गर्न माग गरेको छ ।

शुक्रबार बिहान ३ बजेतिर वीरेन्द्रनगर वडा नं– १४ पर्ने कटकुवा जङ्गलमा २९१ गाई–गोरु अलपत्र अवस्थामा छाडिएको थियो । कतिपय गाई–गोरु भीरबाट खसालिएको अवस्थामा भेटिएकाले स्थानीयवासीले ‘गौहत्या’ भन्दै घटनामा संलग्नलाई कानूनी कारवाहीको माग गरेका छन् ।

घटनाको विरोधमा शनिबार मङ्गलगढी चोकबाट शुरु भएको र्याली वीरेन्द्रचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । सुर्खेत उद्योग वाणिज्य सङ्घका अध्यक्ष धनबहादुर रावतले गाईलाई दानवीय हिसाबले भीरबाट खसालिएको भन्दै घटनाको निन्दा गर्नुभएको थियो ।

‘एउटा प्रदेशका छाडा पशु चौपाया अर्को प्रदेशको अनुमति बेगर ल्याएर छाडियो, नेपालगञ्ज उपमहानगरपालिकाको गम्भीर लापरबाही हो । दोषी जुनसुकै भए पनि कारवाही गर्न सरकारले हिम्मत गरोस्, उहाँले भन्नुभएको छ ।

राप्रपामाथि प्रहार सुरु

नेपालगञ्ज उपमहानगरपालिकाको प्रमुखमा राष्टिय प्रजातन्त्र पार्टीबाट उम्मेद्वार बनेर निर्वाचित बन्नुभएका डा. धवलसमशेर राणा हुनुहुन्छ र उपप्रमुखमा नेपाली कांग्रेसकी उमा थापा हुनुहुन्छ ।

चुनाव चिन्ह र झण्डामा समेत नै गाई राख्दै आएको राप्रपाका लागि सुर्खेतको गाईगोरु काण्ड काउसो हुने भएको छ । घट्ना सार्वजनिक भएको भोलिपल्र्टै समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले राजधानीमा आयोजित एक कार्यक्रममा गाई र राजा बोकेर हिंड्ने राप्रपाले गाई मारेर पाखण्ड देखाएको टिप्पणी गरिसक्नुभएको छ ।

समाजवादी पार्टीको प्रदेश समायोजन कार्यदलले शनिबार ललितपुरमा गरेको कार्यक्रममा भट्टराईले , ‘राजतन्त्रको भूतको रुपमा आएको पार्टी राप्रपाले राजा र गाईलाई बोकेर हिंड्थ्यो । त्यसैले आफ्नै नगरपालिकाबाट गाईहरु बटुलेर ट्रकमा हालेर भिरबाट गुल्ट्याएर गाईलाई मारिरहेको छ, यस्तो पाखण्ड ’ भनेर टिप्पणी गर्नुभएको छ ।

यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टीले सुर्खेतको कटकुवा भन्ने ठाउँमा २४ वटा गाई मृत भेटिएको घटनाको छानबिन गर्न माग गरेको छ ।

हिन्‍दूहरुको आस्था एवं राष्ट्रिय जनावर गाई यति ठूलो संख्यामा मृत भेटिनु दुखद, शंकास्पद र निन्दनीय भन्दै राप्रपाले तत्काल छानबिन गर्न माग गरेको हो ।

यता नेपालगञ्ज उपमहानगरपालिकाले एक वक्तव्य प्रकाशित गर्दै आफूहरुले दैलेख पठाउने क्रममा सुर्खेत दैलेख सडकमा ती गाईबस्तु उतारेर हिडाएर पठाउने क्रममा रोगी र बृद्ध श्रेणीका गाईबस्तु मरेको हुनसक्ने जनाएको छ । तर घटनास्थलबाट प्राप्त तस्वीरमा बाच्छा बाच्छी पनि मरेको देखिएकोले उपमहानगरपालिकाको यो तर्कका दम देखिदैन् । कि त ट्र्क चालकले सडकको भीरखण्डबाट गुल्ट्याएरै मार्ने नियतले भीरमा खसालिदिएको हुनुपर्दछ कि धेरै संख्यामा गाईगोरु साँघुरो स्थानमा छोडेकोले आपसी धकेलाधकेल वा जुध्दा खसेर मरेको हुनुपर्दछ ।

नगरका प्रमुख डा. धवलसमशेर राणा र उपप्रमुख उमा थापा रहेको सो उपमहानगरपालिकामा वक्तव्य भने कार्यबाहक प्रमुखको नाममा सुनिलसिंह हमालले हस्ताक्षर गर्नुभएको छ । नगरप्रमुख डा. राणा र उपप्रमुख थापाको अनुपस्थितिमा सो कार्यभएको भए राप्रपा यसप्रकरणमा जोगिने अवस्था भने बाँकी छ ।

Share Now

Leave a comment.