Prakash Adhikari September 10, 2019

काठमाडौं, २४ भाद्र ।नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको छ।

मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा आफ्नो १ वर्षे कार्यकालमा सम्बोधन गर्दै प्रधानसेनापति थापाले सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको हो।

उहाँले सार्वजनिक गरेको सम्पत्ति विवरणमा उहाँसँग ५५ तोला सुन, ५९० तोला चाँदी र १० लाख बराबरको हार खरिद गरिएको उल्लेख छ।

त्यसैगरी, नेपाल इन्भेष्टमेन्ट बैंकको खातामा २३ लाख नगद, ग्लोबल आइएमइ बैंकको खातामा ४२ हजार र उनको श्रीमतीको नाममा ५० हजार नगद रहेको उल्लेख छ।

तस्बिर : रासस
श्रीमती र छोरीको नाममा ४३ लाख बराबरको सेयर रहेको सम्पत्ति विवरणमा उल्लेख छ।

यसका साथै उहाँको काठमाडौं, नवलपरासी, लमजुङमा जग्गा समेत रहेको छ।

सेना राष्ट्रिय सुरक्षा हेर्ने संवेदनशील संगठन भएता पनि आफूले पारदर्शीताको लागि सम्पत्ति विवरण सार्वजनिक गरेको उहाँले बताउनुभयो।

‘सम्पति विवरण सार्वजनिक गरेको छु। आजै हाम्रो वेबसाइटमा हेर्न सकिन्छ। अन्य सैनिक सबैले सार्वजनिक गर्न सक्नुहुनेछ’, उहाँले भन्नुभयो,‘सम्पत्ति विवरण गोप्य राखिनेछ कसैले चाहनुहुन्छ भने सम्पत्ति सार्वजनिक गर्न सक्नुहुनेछ। राष्ट्रिय सुरक्षा हेर्ने संवेदनशील संगठन भएकाले सेनाभित्रको आर्थिक गतिविधि छानबिन नगरिएको हो। यसलाई दुरूपयोग नगरौं।’

सेनाभित्र भ्रष्टाचार छानबिन हुँदैन त्यसैले अनियमितता हुन्छ भन्ने आरोप लागेकोले अब त्यसबारेमा पनि छानबिन हुने उहाँले बताउनुभयो।

‘सेनाभित्र भ्रष्टाचार छानबिन हुँदैन त्यसैले अनियमितता छ भन्ने आरोप छ म यसलाई सुधार गर्छु’, उहाँले भन्नुभयो, ‘सेनाभित्रको अनियमितता र भ्रष्टाचार छानबिन हुन्छ।’

गलत प्रवृत्तिलाई भत्काउन ढिला गर्न नहुने उहाँको भनाइ छ।

‘गलत प्रवृत्तिलाई भत्काउन ढिला गर्नु हुँदैन। राम्रा संस्कारलाई जोगाउन ढिला नगरौं। जो भए पनि उस्तै हो भन्ने भावना भत्काउन खोज्दैछु। मैले सुधारको काम नथालेको भए धेरै ढिला हुन्थ्यो भनेर सेनाभित्र र बाहिर बहस सुरू भएको छ।’

नेपाली सेनामा गरिएको सर्वेक्षणबाट आफूले गरेको काम ७० प्रतिशत भन्दा बढी सफल भएको उहाँले बताउनुभयो।

Share Now

Leave a comment.