काठमाडौं,२९ भाद्र । नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणालीमा नयाँ प्रणालीको सुरुआत गरेको छ ।
बैंकले आइतबार अन्तर्राष्ट्रिय भुक्तानी प्रणाली रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीयस) औपचारिकरुपमा सुरआत गरी नेपालमा नयाँ विद्युतीय भुक्तानी प्रणालीको सुरुवात गरेको हो ।
आरटीजीयस प्रणालीको शुभारम्भ नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपाल र लर्ड मयेर अफ लन्डनका पिटर एलष्टिनले संयुक्त रुपमा उद्घाटन गरेका गर्नुभएको हो । युके एड बेलायतको प्रावधिक तथा आर्थिक सहयोगमा नेपालमा आरटीजीएस प्रणाली सुरुआत गरिएको हो ।
यस प्रणालीको सुरुआत भएसँगै चेक भुक्तानी प्रणालीबाट नै रकम भुक्तानी गर्नु पर्ने वाध्यताको अन्त्य भएको नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपालले बताउनुभयो । साथै उक्त प्रणालीले मनी लाण्डरिङ र आतंकवादीले गर्न सक्ने आर्थिक कारोबारलाईे नियन्त्रण गर्ने उहाँले बताउनुभयो ।
नेपालमा यो प्रणालीको सुरुआत माछपुच्छ्रे बैंक, इन्भेष्टमेन्ट बैंकले २० करोडको भुक्तानी गरि गरेका हुन् ।
राष्ट्र बैंकका अनुसार हाल २० लाखभन्दा बढीको कारोबारमा अनिवार्य यस प्रणालीमार्फत भुक्तानी गर्नुपर्ने व्यवस्था गरिएको छ भने १ लाखभन्दा बढीको कारोबारलाई ऐच्छिक बनाइएको छ । यस प्रणालीबाट कारोबार गर्दा प्रतिकारोबार १० रुपैयाँ शुल्क लाग्ने बताइएको छ ।
भुक्तानी गर्ने खातावालाले अर्को बैंकको खाता नम्बरमा तोकेर रकम भुक्तानी गरिदिनु भन्ने आदेश दिने बित्तिकै अर्को बैंकमा खाता भएको व्यक्तिलाई ठूलो परिणाममा भुक्तानी तत्कालै हुनेछ । यो प्रणाली लागू भएपछि बैंकहरुको चेक मार्फत हुने खर्च बचत हुने विस्वास गरिएको छ ।
यसअघि एक बैंकको चेकबाट क्लियरिङ मार्फत भुक्तानी हुन कम्तिमा एक दिन लाग्ने गरेको थियो । अब यस प्रणालीको शुरुवात भएसँगै भुक्तानी लिने व्यक्तिले तुरुन्तै अर्को खातामा रकम जम्मा गर्न सक्ने भएको हो ।
केन्द्रीय बैंकले पहिलो चरणमा वाणिज्य बैकहरूलाई आरटीजीएस प्रणाली अनिवार्य गरेको छ । आगामी पुसदेखि विकास बैंक र फाइनान्स कम्पनीहरुमा लागू गर्ने राष्ट्र बैंकको योजना छ ।