Prakash Adhikari September 26, 2019

काठमाडौं,९ असोज। २७ वर्षिया खगित्रा शाहीले बुधवार एकैपटक चारजना शिशुहरूलाई जन्म दिएको घटनालाई उनको प्रसूतिमा सघाएका काठमाण्डू मेडिकल कलेज (केएमसी) का चिकित्सहरूले ‘दुर्लभ’ घटना बताएका छन्।

आठ महिनाको गर्भपछि शल्यक्रियामार्फत् जन्माइएका ति शिशुहरूमा तीनजना छोरा र एकजना छोरी छन्।

तीनजना शिशुहरूको स्वास्थ्य अवस्था सामान्य रहेको तर एकजनाको अवस्था भने अस्थिर देखिइरहेको शल्यक्रियामा संलग्न एकजना नर्स अल्पना अधिकारीले बीबीसीलाई बताइन्।

दुर्लभ
केएमसीकी प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा चन्दा कार्की भन्छिन्: “सामान्य तरिकाबाटै बस्ने गर्भमा यस्तो हुनु निकै दुर्लभ हो। मेरो ३५ वर्षे अनुभवमा मैले देखेको यो दोस्रो चम्ल्याहा जन्म हो।”

‘टेस्टट्युब बेबी’का रूपमा जन्माइने सन्तानका हकमा भने एकभन्दा बढि बच्चाहरू गर्भमा रहन सक्ने बताइन्छ।

बुधवार जन्मिएका शिशुहरू ३४ हप्ता पुगेपछि जन्मिएका कारण ती शिशुहरूलाई श्वासप्रश्वासमा कठिनाई हुनसक्ने हुँदा केही साता विशेष स्वास्थ्य निगरानीमा राख्नुपर्ने शल्यक्रियामा संलग्न स्वास्थ्यकर्मीहरूले बताएका छन्।

सामान्यत: नवजात शिशु जन्मंदा साढे दुई किलो तौल हुनुपर्ने मानिन्छ। ३४ हप्ता पूरा भएपछि फोक्सो पूर्ण रूपमा विकास हुनेगर्छ।

बच्चा जन्मनुअघिको सकस

“तर यसरी जन्मने शिशुमा फोक्सोको विकास हुने काम केही छिटो हुन सक्छ। किनकि ती शिशुहरूले गर्भमै तनावपूर्ण अवस्था बेहोरेर हुर्कने हुँदा तिनको शारीरिक विकासमा परिपक्वता छिट्टै देखिने सम्भावना हुन्छ।”

जन्मिएका शिशुमध्ये सबैभन्दा कम एकजनाको तौल ९५० ग्राम र बाँकी तीनको क्रमश: झण्डै १.४ केजी, १.५ केजी र १.६ केजी रहेको चिकित्सकहरूले बताएका छन्।

बच्चा जन्मनुअघिको ‘सकस’

चारवटा बच्चा गर्भमा रहेको भन्ने पहिले नै थाहा भएपछि झण्डै एक महिनाअघि खगित्रालाई उनको परिवारले धनगढीबाट काठमाण्डू ल्याएको थियो।

उनका श्रीमान पदम बहादुर शाही भन्छन्: “पछिल्ला केही साता त उनलाई हिँड्न, उठबस गर्न र खाना खान नै निकै कठिन भएको थियो।”

तर चिकित्सकहरू भने शिशुका शरीरका अङ्गहरूको विकासका लागि भन्दै कम्तीमा ३४ साता पुर्याउन जोड दिइरहेका थिए।

“३४औं साता पुगेको दिन शल्यक्रिया गरियो,” पदम बहादुर शाहीले भने।

पाठेघर निकै तन्कने हुँदा चारवटा शिशुलाई शरीरमा पूरा समय राख्न लगभग असम्भव नै हुने स्त्रीरोग विशेषज्ञ कार्की बताउँछिन्।

(बीबीसी)

Share Now

Leave a comment.