काठमाडौं, २५ पौष । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता संयोजन समितिको बैठक मंगलबार ३ बजे बस्ने भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बैठक बस्न लागेको हो।
बैठकले पार्टी एकताका लागि संगठनात्मक र सैद्धान्तिक विषयमा टुङ्गो लगाउन कार्यदल गठन गर्ने विषयमा छलफल गर्नेछ। संयोजन समिति बैठक अघि सोमबार एमालेको स्थायीसमिति बैठक बसेको थियो। बैठकले पार्टी एकता गर्ने प्रस्ताव पारित गरेको एमाले उपाध्यक्ष भीम रावलले जानकारी दिए।
त्यस्तै सोमबार नै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि पार्टीका नेताहरुसँग छलफल गरेका थिए।
दुई पार्टीका अध्यक्षबीच आइतबार साँझ पार्टी एकता संयोजन समिति बैठक बस्ने विषयमा छलफल भएको थियो। संयोजन समितिमा एमालेका ४ जना र माओवादीका ३ जना नेता रहेका छन्।
एमाले सचिव प्रदिप ज्ञवालीले पार्टी एकताको विषयमा बैठकमा छलफल हुने बताए। एमाले अध्यक्ष ओली बुधबार स्वास्थ्य उपचारका लागि थाइल्याण्ड जाँदैछन्।
उपचारमा जानुपूर्व पार्टी एकताको विषयलाई ठोस आकार दिन दुवै अध्यक्ष आतुर रहेका छन् ।
पार्टी एकताको विषयमा आपसमा शंसय रहेको हुनाले सरकार गठनका विषयमा पनि दुवै पार्टीका नेताहरुको समान धारणा बन्न सकिरहेको छैन ।