Prakash Adhikari October 11, 2019

चौतारा(सिन्धुपाल्चोक),२४ असोज(बीबीसी) । सिन्धुपाल्चोकबाट काठमाण्डूतर्फ आउँदै गरेको एउटा यात्रुवाहक बस दुर्घटनामा पर्दा कम्तीमा ११ जनाको ज्यान गएको अधिकारीहरूले पुष्टि गरेका छन्।

उनीहरूका अनुसार मृतकहरूको सनाखत हुन बाँकी छ। दुर्घटनामा परेकामध्ये ६ जनाको घटनास्थलमै र पाँच जनाको उपचारका लागि धुलिखेलतर्फ ल्याउँदा मृत्यु भएको हो।

उनीहरूको पोस्टमार्टम गर्न लागिएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङ्गले बताइन्।

उनका अनुसार ४० सिटको बसमा करिब ७० जना यात्रु सवार थिए।

मृतकहरूमा पाँचजना पुरुष, चारजना महिला र दुईजना बालबालिका रहेको उनले बताइन्।

बिहान करिब १० बजे इन्द्रावती गाउँपालिकामा बस दुर्घनामा परेको थियो।

उनका अनुसार घटनामा करिब ४० जना घाइते भएको अनुमान गरिएको छ।

गम्भीर चोट लागेका १३ जनालाई हेलिकप्टरबाट काठमाण्डूस्थित ट्रमा सेन्टरमा उपचारका लागि लगिएको उनले जानकारी दिइन्।

सामान्य घाइते भएकाहरूलाई धुलिखेल अस्पताल पुर्‍याइएको बताइएको छ।

बस सडकबाट चिप्लिएर करिब ५० मिटर तल झरेको बताइएको छ। के कारणले त्यस्तो भएको हो भन्ने कुरा स्पष्ट भई नसकेको उनले जानकारी दिइन्।

नेपालमा भइरहने सडक दुर्घटनाका प्रमुख कारण
बस दुर्घटना
चालकको लापरवाही, क्षमताभन्दा बढी यात्रु बोक्ने प्रवृत्ति र यात्रुको पनि असावधानीजस्ता मानवीय त्रुटि नेपालमा हुने अधिकांश सडक दुर्घटनाको मुख्य कारण भएको अधिकारी तथा विज्ञले बताएका छन्।

सडक दुर्घटनाका कारण नेपालमा बर्सेनि औसतमा दुई हजारभन्दा बढीको ज्यान जाने गरेको भए पनि यस्ता मानवीय त्रुटि कम गर्ने सम्बन्धित पक्षले खासै ध्यान नदिएको विज्ञहरूको आरोप छ।

अधिकारीहरू भने सडक दुर्घटना कम गर्न निरन्तर अभियानहरू चलाइरहेको दाबी गर्छन्।

ट्राफिक प्रहरीको विवरण हेर्ने हो भने नेपालमा सडक दुर्घटनाबाट हरेक दिन औसतमा सातजनाको ज्यान जाने गर्छ।

कारण सडक पनि
एकजना ट्राफिक इन्जिनियर आशिष गजुरेल दुर्घटनाको मुख्य कारण नेपालका खराब र राम्ररी डिजाइन नगरी बनाइएका सडक भएको बताउँछन्।

सडक
उनी भन्छन्, “सडकमा टोल लगाएर भए पनि राम्रो सडक बनाए कम क्षति हुनसक्छ। त्यसका लागि सरकारले टोल लगाएर भए पनि सडकबाट पैसा उठाएर राम्रो सडक बनाउनु पर्छ।”

सडक सुरक्षाको जिम्मा पाएका सरकारी निकायहरूले सडक दुर्घटनाबाट हुने मानवीय क्षतिलाई संवेदनशील भइ नहेरेको विज्ञहरूको आरोप छ।

अधिकारीहरू भने त्यस्तो आरोप अस्वीकार गर्छन्।

सरकारी दाबी

गत मार्चमा बीबीसी न्यूज नेपालीसँग कुरा गर्दै नेपाल प्रहरीका तत्कालीन प्रवक्ता उत्तराज सुवेदीले आफूहरुले सडक सुरक्षाबारे विद्यालयहरूमा समेत जनचेतना अभियान चलाइरहेको बताएका थिए।

“यसलाई समुदाय तहमा देशव्यापी रूपमा चलाउन शुरू गरेका छौँ,” उनले थपे।

अधिकारीहरूको यस्तो दाबीलाई विज्ञहरू चाँहि विश्वस्त हुने आधारहरू नभएको भन्दै नकार्ने गरेका छन्।

उनीहरू भन्छन्, सामान्य लाग्ने कतिपय कमजोरी हुन नदिने हो भने सवारी दुर्घटनाका कारण अनाहकमा जाने धेरै ज्यान जोगाउन सकिन्छ।

Share Now

Leave a comment.