Prakash Adhikari October 15, 2019

प्रकाश अधिकारी
काठमाडौं, २८ असोज । गैरआवासीय नेपालीहरुको गरिमामय संस्था,गैरआवासीय नेपाली संघ(एनआरएनए)को नवौं वार्षिक सम्मेलन आजदेखि राजधानी काठमाडौंमा शुरु हुँदैछ ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट उद्घाटन हुने यो कार्यक्रम भोलिसम्म चल्ने छ । सम्मेलनको समापन सत्रलाई प्रधानमन्त्री केपी शर्मा ओलीले संबोधन गर्नुहुने कार्यक्रम छ ।

यस बर्ष कार्य समितिको निर्वाचन पनि हुने भएकोले यो सम्मेलनको विशेष महत्व रहेको सहभागीहरुले जनाएका छन् ।

गैर आवासीय नेपाली संघको नेतृत्व लिन अहिलेसम्म दुईजना मैदानमा देखा पर्नुभएको छ । दुवैजना आआफ्नो टीम सहित मैदानमा उत्रने तयारीमा हुनुहुन्छ । दुवै समूहले आआफ्नो टीम बनिसकेको र घोषणा भैसकेको दावी गरेका छन् । तर, निर्वाचन समितिले जारी गरेको अन्तिम सूचना अनुसार उम्मेदवारी दिने समय भोलि बुधबार बिहानसम्म रहेकोले अन्तिम समयसम्म उम्मेदवारहरुको सूचीमा हेरफेर हुने संभावना भने प्रवल रहेको छ ।

संस्थाको गरिमा जोगाउने नेतृत्वको खोजी

अध्ययन, अन्तर्राष्ट्रिय संस्थाहरुमा सेवा र कामको खोजिमा विश्वका विभिन्न देशहरुमा पुगेका नेपालीहरुलाई संगठित गर्ने, संबन्धित मुलुकमा नेपालीहरुलाई परेका समस्या सामूहिक रुपमा समाधान गराउने, नेपाली र नेपाली मूलका संबन्धित देशका बासिन्दाहरुलाई संबन्धित मुलुक र अन्तराष्ट्रिय क्षेत्रमा व्यवसाय र रोजगारीका अवसरहरु उपलब्ध गराउने,विदेशमा नेपाली र नेपाली मूलका नागरिकहरुले प्राप्त गरेको ज्ञान,सीप,पूँजी र प्रविधिलाई जन्मभमि नेपालमा ल्याएर नेपालको शैक्षिक, आर्थिक,सामाजिक,भौतिक विकास गर्दै नेपाल र नेपालीलाई समृद्ध बनाउने उद्देश्यले गैरआवासीय नेपाली संघको स्थापना भएको थियो ।

अक्टोबर ११, २००३ मा स्थापना भएयताका १६ बर्षमा यसले आफूलाई निरन्तर सबल,संगठित र विदेशमा रहेका नेपालीहरुको प्रतिनिधिमूलक साझा संस्थाको रुपमा स्थापित गर्दै आइरहेको छ । अल्पविकसित अवस्थामा रहेको नेपालका हरेक सरकारले यो संगठन, जसमा संसारका विकसित र सम्पन्न मुलुकहरुमा रहेका नेपालीहरुको ज्ञान,सीप,क्षमता,पूँजी र उनीहरुले विकास गरेका वा उनीहरु अभ्यस्त रहेका प्रविधि नेपालमा भित्र्याएर नेपालको विकासको गति र आर्थिक सामाजिक रुपान्तरणको गतिलाई तीव्रता दिने अभिप्रायले उच्च महत्व पनि दिंदै आएको छ ।

हालैका बर्षहरुमा देशको विकासको नीतिहरु निर्माण गर्ने निकायहरुमा यसका प्रतिनिधिहरुलाई आमन्त्रित र पर्यवेक्षकको रुपमा सहभागी गराउन थालिएको छ । विदेशमा रहेका नेपालीहरुले क्षमता अनुसार गरेको वचतलाई संकलन र एकीकृत गरी गैरआवासीय नेपालीहरुको यसै संघका माध्यमबाट परिचालन गरी देशमा पूँजीको सिर्जना, उद्यम व्यवसायको बृद्धि र रोजगारीको बृद्धिमा सहयोग हुँदै आएको छ ।

मुलुकमा २०४६ सालको जनआन्दोलनबाट बहुदलीय संसदीय प्रजातन्त्रको पुनस्थापना भएपछि नेपालीहरुको विश्वगमन जुन ढंगले बढेको छ, नेपाली समाजमा शैक्षिक र सामाजिक चेतना पनि बढ्दै गएको छ । भौतिक र आर्थिक विकासका संरचनाहरु बनिरहेका छन् । देशको भौगोलिक स्वरुप, आर्थिक विपन्नता, राजनीतिक अस्थिरता आदि कारणले अपेक्षित विकास नभए पनि तिन दशक पहिलेको नेपालको तुलनामा अहिलेको नेपालको अवस्था निकै गर्व गर्न लायक छ । यसमा अवसरको खोजीमा विदेशिएका नेपालीहरुको ठूलो योगदान रहदै आएको छ ।

पछिल्लो समयमा मलेशिया,खाडी परिषद्का मुलुकहरुमा भएको श्रम बजारको विस्तार र नेपालको सहभागितासहित संयुक्त राज्य अमेरिका,अष्टे्रलिया,बेलायत,जापान,हंगकंग,मकाउ,युरोपका विभन्न मुलुकहरुदेखि दक्षिण अफ्रिकाका सम्मका देशहरुमा पुगेका नेपालीहरुले कमाएर पठाएको विप्रेषण नै नेपालको मुख्य आय भएको छ । यो ने राज्य चलाउने मूल आधार बन्दै गएको छ । यसैले गैरआवासीय नेपालीहरुको योगदानलाई घरपरिवार,गाँउ टोल,छिमेक,नगर, जिल्ला, सिंगो देशले कम आँकलन गर्ने अवस्था छैन । सरकारको लागि त यो आम्दानी नै ठूलो राहत भएको छ । उसले यो संस्था,यसका प्रतिनिधि र विदेशमा पसिना वगाएर स्वदेश बनाउने हरेक गैरआवासीय नेपालीका लागि सम्मान गर्नुपर्ने अवस्था छ । उचित प्रतिनिधित्व पनि गराउदै आएको छ । गैर आवासीय नेपालीको मागलाई सरकार,संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरुले उत्तिकै महत्व दिइरहेका छन् ।

अहिले विश्व नागरिकको अवधारणा आएको देशमा आवश्यक परेमा स्वदेशी मूलका नागरिकहरुलाई राज्यका विभिन्न पदमा नियुक्त गर्ने प्रचलन संसारभर चल्दै आएकोले गैरआवासीय नेपालीहरुले राख्दै आएको नागरिकताका माग सहित अन्य मागहरु वीन वीन अवस्थामा पूरा हुने अवस्था पनि छ ।

सबैले अपेक्षापूर्ण नजरले हेरेको,संसार बुझेको,ज्ञान,सीप,प्रविधि,पूँजी र विकसित संसारको सुव्यवस्था र संस्कार बुझेको यो गरिमामय संस्थाको भावि नेतृत्व कस्तो आउला भन्ने आम चासो भने बढ्दै गएको छ ।

सम्मेलनको तयारीका लागि स्वदेश आउनुभएका प्रतिनिधिहरुले विगत केही दिन यता अनुभव गरेका व्यवहारहरु यो संस्थाको मर्यादा र गरिमा अनुरुप देखिएका छैनन् । आफ्नै भवन बनेपछि संस्थाका कामहरु व्यवस्थित हुुनुपर्ने हो । सो भएको देखिएन् । संस्थामा संस्थागत संस्कारको अभाव देखिनु पनि दुःखद पक्ष हो । एकैदिन एकै स्थलमा एकै विषयमा दुई पटक पत्रकारसम्मेलन हुनुले संस्थाभित्रको नेतृत्व क्षमताको कुशलताको ह्रासलाई सार्वजनिक गरेको छ ।

यो संस्थालाई शून्यबाट यो अवस्थामा ल्याएर देश विदेशमा स्थापित गराउन वर्तमानसहित अग्रज नेतृत्वबाट जुन प्रयास,मिहेनत र कार्यहरु भएका छन्, तिनलाई जोगाउदै यो संस्थालाई अझ संगठित,व्यवस्थित,प्रविधियुक्त,उत्तरदायी,सबल,सक्षम,आर्र्थिक रुपले सम्पन्न बनाएर नेपाल र नेपालीको समृद्धिको लागि नेतृत्व लिन सक्न बनाउनका लागि अग्रजहरुले एकपटक भावि नेतृत्वको बारेमा सामूहिक चिन्तन गर्नुपर्ने अवस्था आएको कुरा विगत केही दिनका घट्नाक्रमले पुष्टि गरेका छन् । समयको मागलाई सबैले बुझेर आत्मसात गर्नुपर्दछ । समयले कसैलाई पर्खदैन । आफूले जन्माएको र आफ्नो रगत र पसिनाले हुर्काएका संस्थाको माया मन,वचन र कर्मले सहयोग गर्ने सबैलाई हुन्छ । एनआरएनएलाई अहिले सबै अग्रजहरुको सल्लाहले चल्ने क्षमतायुक्त,सक्षम,सबल,ज्ञानी र लचक नेतृत्वको आवश्यकता छ । प्रतिनिधिहरुले यसलाई मनन गरुन् । नेतृत्व यस्तो होस् जसका अन्तरगत बस्न र काम गर्दा सबै गैर आवासीय नेपालीलाई गर्व महसुस हुन सकोस् ।

 

Share Now

Leave a comment.