अंकारा(टर्की),२९ असोज(बीबीसी) । टर्कीका राष्ट्रपति रेजेप ताइयिप एर्दोआनले उत्तरी सिरियामा युद्धविरामका लागि अमेरिकाले गरेको आग्रहलाई अस्वीकार गरिदिएका छन्।
अमेरिकी उपराष्ट्रपति माइक पेन्स र विदेशमन्त्री माइक पोम्पेओले युद्ध रोक्ने प्रयास गर्न भन्दै टर्की जाने तयारी गरिरहँदा एर्दोआनको त्यस्तो भनाइ आएको हो।
एर्दोआनले यस विषयमा रुससँग समेत कुरा गरेका छन्।
क्रेम्लिनले सिरियाली सेनामाथि आक्रमण हुन नदिने बताएको छ।
‘अस्वीकार्य’
सिरियाका लागि मस्कोका विशेषदूत अलेक्जान्डर लभ्रेन्तेभले सैन्य आक्रमण “अस्वीकार्य” भएको बताएका छन्।
सिरियाली नेता बशर अल असदको रुस मुख्य सैन्य साझेदार हो।
सन् २०१५ यता सिरियामा रुसी सेना परिचालित छ।
रुसी रक्षा मन्त्रालयका अनुसार उसका सेनाहरूले सिरिया र टर्कीका सेनाको जम्काभेट हुन सक्ने ठाउँमा गस्ती गरिरहेको छ।
युद्ध रोक्ने उपायबारे छलफल गर्न अङ्करासँग आफू सम्पर्कमा रहेको मस्कोले जनाएको छ।
अमेरिकाको आलोचना
गत साता उक्त क्षेत्रबाट अमेरिकी सेना फिर्ता लैजानले निर्णयले टर्कीलाई उत्तरी सिरियामा आक्रमण गर्ने बाटो खोलिदिएको बताइन्छ।
तर मङ्गलवार अबेर पेन्टागनले आफ्ना लडाकु विमान र हेलिकप्टर त्यसतर्फ पठाएको बताइएको छ।

अङ्कारा हाल टर्कीमा रहेका ३० लाखभन्दा बढी सिरियाली शरणार्थीलाई पुर्नस्थापित गराउन चाहन्छ जसमध्ये धेरैजसो गैरकुर्द छन्
सिरियाको ऐन इस्सामा रहेका आफ्नो स्थलसेनानजिक टर्कीसमर्थित फौज पुगेपछि त्यसो गरिएको अमेरिकाले जनाएको छ।
एक अमेरिकी सैन्य अधिकारीका अनुसार टर्कीसमर्थित फौजले अमेरिकी सेनालाई तारो नबनाउने सम्झौताको उल्लङ्घन गरेको छ।
सिरियामा जिहादी समूह इस्लामिक स्टेटलाई परास्त गर्ने अमेरिकी अभियानमा कुर्द नेतृत्वको सिरियन डेमक्रेटिक फोर्सेस (एसडीएफ) ले सघाएको थियो।
तर टर्कीले एसडीएफलाई टर्कीविरुद्ध विद्रोहको समर्थन गर्ने “आतङ्कवादी” मान्छ। अमेरिकी सैनिक फर्किएपछि टर्कीले कुर्दहरूलाई लक्षित गर्दै स्थल तथा हवाई आक्रमण थाल्यो।
मस्कोको मध्यस्थता
रुसी विशेषदूत लभ्रेन्तेभले सिरियाली कुर्द र दमास्कसबीच सम्झौता गराउन रुसले सघाएको पुष्टि गरेका छन्।
अलेक्जान्डर लभ्रेन्तेभले यसअघिको सम्झौताअनुसार सिरियामा टर्की पाँचदेखि १० किलोमिटर भित्र मात्र जान पाउने बताएका छन्।
सिरियाली सेना आएपछि स्थानीय मानिसहरूले यसरी स्वागत गरे
टर्कीले ३० किलोमिटरभित्र सिरियामा छिरेर त्यहाँबाट कुर्द लडाकुहरूलाई धपाउँदै आफ्नो “सुरक्षित क्षेत्र” निर्माण गर्न खोजेको छ।
टर्कीले कुर्दहरूमाथि सैन्य आक्रमण गरेपछि अमेरिकाले त्यसको सशक्त विरोध गर्दै टर्कीका दुईवटा मन्त्रालय र तीन वरिष्ठ अधिकारीहरूलाई प्रतिबन्ध लगाएको छ। अमेरिकाले स्टीलमा कर बढाउने र व्यापार सम्झौतासम्बन्धी वार्ताहरू समेत रोकेको जनाएको छ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले टर्कीका राष्ट्रपतिलाई फोन गरेर तत्काल युद्धविराम गर्न आग्रह गरेका थिए।
तर टर्कीका राष्ट्रपतिले अमेरिकाको आग्रहलाई अस्वीकार गरेका छन्।
बीबीसीका जेम्स रीड भन्छन्, “राष्ट्रपति एर्दोआनले कुर्द लडाकुहरूलाई सीमा क्षेत्रबाट हटाउन पश्चिमा विश्वसँगको आफ्नो सम्बन्धको जुनसुकै मूल्य चुकाउने बताएका छन्।”
कुर्द र सिरियाली सेना एकजुट
टर्कीले गरेको आक्रमणको प्रतिकार गर्न बशर अल-असदको सरकार सेना परिचालन गर्न सहमत भएको थियो।
उनीहरूबीच भएको सहमतिलाई सिरियाका राष्ट्रपतिको आत्मबल बढाउने अवसरको रूपमा हेरिएको छ।
कुर्द लडाकु र सिरियाबीच सहमति भएपछि उत्तरी सिरियामा सन् २०१२ यता पहिलोपटक सरकारी सेना फर्किएको छ।


















