लाहोर(पाकिस्तान), २५ पौष । पाँचौ दृष्टिबिहिन एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपाल पाकिस्तानसंग ९ विकेटले पराजित भएको छ।
पाकिस्तानको लाहोरको गुज्रनवाला स्थित जिन्नाह स्टेडियममा पहिले टस जितेर नेपालले ब्याटिंग गर्दै तयार पारेको २ सय ५८ रनको योगफलको लक्ष्य पाकिस्तानले १९दशमलव १ ओभरमै पूरा गरेको थियो।
पहिलो इनिंगमा नेपालले निर्धारित ४० ओभरको खेलमा ५ विकेट गुमाएर २ सय ५८ रन बनाएको थियो। नेपालको लागि ओपनिंग ब्याटिंग गरेका रमेशबहादुरले सर्बाधिक ५९ रन, पदम बडेलले ५० रन तथा बद्रि चौलागाईंले ४७ रनको योगदान दिएका थिए। यस्तै खिमानन्द गैरेले अविजित ३० रन योगदान दिए।
लक्ष पछ्याउने क्रममा पाकिस्तान ओपनर बदर मुनिरले १ सय २६ रनको योगदान दिए। मात्र ५७ बल खेलेका उनले २६ चौका प्रहार गरेका थिए। उनले अर्का ओपनर मोहसिन खानसंग पहिलो विकेटको लागि १सय ७७ रनको साझेदारी गरे। मोहसिन ७४ रनमा तथा अमिर अश्फाक ४६ रनमा अविजित रहँदै टीमलाई विजयी बनाए ।
खेलको म्यान अफ द म्याच बदर मुनिर चुनिए।
पाकिस्तानले पहिलो खेलमा बंगलादेशलाई ९ विकेटले पराजित गरेको थियो। त्यस खेलमा पनि बदर मुनिर एक्लैले १सय ४५ रन बनाउदै खेलको म्यान अफ द म्याच चुनिएका थिए।
नेपालले १० जनवरीमा दोश्रो खेल बंगलादेशसंग इकबाल स्टेडियममा खेल्नेछ। तेश्रो खेल श्रीलंकासंग १३ जनवरीमा युएईको अज्मान ओभल मैदानमा, चौथो खेल १४ जनवरीमा भारतसंग इडन गार्डेन मैदान युएईमा तथा लिगको पाँचौ अन्तिम खेलमा अस्ट्रेलियासंग एमसीसी मैदान युएईमा १५ जनवरीमा खेल्नेछ।