काठमाडौं, ४ कार्तिक । नेपाल मेडिकल काउन्सिलले चिकित्सा शिक्षाअन्तर्गत स्नातक तहका एमबीबीएस र बीडीएसको सिट सङ्ख्या निर्धारण गरेको छ।
चिकित्सा शिक्षा आयोगको आग्रहमा काउन्सिलले नयाँ शैक्षिकसत्र २०७६र७७ लागि मेडिकल कलेजहरुका लागि नयाँ सिट निर्धारण गरेको हो।
काउन्सिलले काठमाडौँ विश्वविद्यालयबाट सम्बन्धन प्राप्त मेडिकल कलेज, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिट सङ्ख्या निर्धारण गरेको जनाएको छ।
काउन्सिलका अनुसार बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई एमबीबीएस १०० र बीडीएस ५०, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई एमबीबीएस ६५, काठमाडौँ स्कूल अफ मेडिसीन धुलिखेललाई एमबीबीएस ८५ र बीडीएस ५०, नोबेल मेडिकल कलेजलाई एमबीबीएस १०० र बिडीएस ३५ सिट तोकिएको छ।
त्यस्तै, विराट मेडिकल कलेजलाई एमबीबीएस ७५, काठमाडौँ मेडिकल कलेजलाई एमबीबीएस १०० र बिडीएस ५०, नेपाल मेडिकल कलेजलाई एमबीबीएस १०० र बिडीएस ५०, कलेज अफ मेडिकल साइन्सेसलाई एमबीबीएस १०० र बिडीएस ५० र लुम्बिनी मेडिकल कलेजलाई एमबीबीएस १०० सीट प्रदान गरिएको छ।
यस्तै, नेपालगञ्ज मेडिकल कलेजलाई एमबीबीएस १००, मनिपाल मेडिकल कलेजलाई एमबीबीएस १००, देवदह मेडिकल कलेजलाई एमबीबीएस ५० र कान्तिपुर डेन्टल कलेजलाई बीडीएस ५० सिट निर्धारण गरिएको छ।
त्यस्तै, चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाको स्नातक तहको नयाँ शुल्क बढाएको छ। आयोगको असोज १ र ३० गतेको बसेको बैठकले नयाँ शैक्षिकसत्र २०७६। ७७ का लागि चिकित्सा शिक्षाको स्नातक तहअन्तर्गत एमबीबीएस र बीडीएस कार्यक्रमका लागि फरक–फरक शुल्क निर्धारण गरेको थियो।
उपत्यकाभित्र एमबिबीएस अध्ययन गर्न ४० लाख २३ हजार दुई सय ५० र उपत्यका बाहिर ४४ लाख ३६ हजार २५ शुल्क निर्धारण गरेको थियो । त्यसैगरी, बीडीएसका लागि उपत्यकाभित्र र बाहिर २० लाख १९ हजार ५८० तोकिएको विज्ञप्तिमा जनाइएको छ।
यसअघि एमबीबीएस तहका लागि उपत्यकाभित्र ३८ लाख ५० हजार र उपत्यका बाहिर ४२ लाख ४५ हजार तथा बीडीएसका लागि उपत्यकाभित्र १९ लाख ३२ हजार ६ सय १२ शुल्क रहेको थियो।


















