कीर्तिपुर(काठमाडौं), ४ कार्तिक । नेपालको पहिलो महिला टी २० च्याम्पियनसीप लिगमा पोखरा पल्टनले जितका साथ लिग चरणबाटै यात्रा टुंग्याएको छ।
उसले आफ्नो अन्तिम खेलमा ललितपुर फाल्कोन्सलाई ६ विकेटले हरायो ।
टस जितेर पहिले ब्याटिङ गरेको ललितपुरले २० ओभरमा सात विकेट गुमाउँदै १ सय २२ रन बनाएको थियो ।
ललितपुरको लागि गिता गोसाई र रोशनी बोहोरा १।१ रनमा आउट भए भने कप्तान नेरी थापा ८ तथा करुणा भण्डारी पनि मात्र १ रनमा पेभेलियन फर्किइन । उसका लागि ममता चौधरीले ५२ तथा कविता जोशीले ३१ रनको योगदान गरिन ।
ललितपुरलाई रोक्ने क्रममा बलिङमा पोखराका लागि सीता रानामगरले दुई विकेट लिइन ।
जवाफमा पोखराले १७ ओभर २ बलमा चार विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो ।
उसले पनि सुरुवात भने राम्रो गर्न सकेन ।उसकी रेवती धोमी, सिता रानामगर एक एक रनमा आउट हुँदा रुबी पोडारले खाता खोल्न सकिनन् । तर त्यसपछि कबिता कुँबरले ६१ रन बनाइन भने विन्दु रावलले ४० रनको योगदान गरिन ।
यी दुई खेलाडीले उत्कृष्ट सतकीय साझेदारी गर्दै टिमलाई जित दिलाए ।
जारी प्रतियोगितामा यो साझेदारी अहिलेसम्म कै उच्च हो ।


















