Prakash Adhikari January 9, 2018

बालकोट(भक्तपुर), २५ पौष । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा बसेको एमाले र माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिले राष्ट्रियसभा र प्रदेश सरकार गठनबारे गृहकार्य गर्न कार्यदल बनाएको छ ।

मंगलबार करिब तीन घन्टा चलेको बैठकले प्रदेश सरकार, राष्ट्रियसभा गठनमा गृहकार्य गर्न ६ सदस्यीय कार्यदल बनाएको छ ।

कार्यदलमा एमालेबाट सुवास नेम्वाङ, शंकर पोखरेल र सुरेन्द्र पाण्डे र माओवादीबाट रामबहादुर थापा बादल, वर्षमान पुन र मातृका यादव छन् ।

एमाले र माओवादीको बैठकले निर्वाचित जनप्रतिनिधिलाई सत्ता हस्तान्तरणका लागि आवश्यक न्यूनतम संवैधानिक र कानुनी प्रक्रिया पुरा गर्न सरकारसंग आग्रह गरेको छ । समितिको बैठकले सरकारसंग प्रदेशको अस्थायी मुकाम तोक्न माग गरेको छ ।

बैठकमा पार्टीको बैचारिक(राजनीतिक र संगठनबारे गृहकार्य गर्न कार्यदल बनाउने सैद्धान्तिक सहमति भएको छ । बैठकले पार्टी एकतामा कुनै विवाद र बिमति नरहेको भन्दै छिट्टै पार्टी एकता प्रक्रिया टुङ्गाउने निष्कर्ष निकालेको छ ।

एमाले अध्यक्ष ओली स्वास्थ्य उपचारबाट फर्किएपछि एकता संयोजन समितिको बैठक बस्नेछ ।

Share Now

Leave a comment.