काठमाडौं, ८ कात्तिक(रासस) । अर्थमन्त्री डा युवराज खतिवडाले ‘डुइङ विजिनेस–२०२०’ मा नेपालको स्थान सुधार आउनुमा नेपाली सरोकारवाला सहकर्मीको कडा मेहनतको प्रतिफल भएको बताएका छन्।
अर्थमन्त्रालय र विश्व बैंक समूहको संयुक्त आयोजनामा नेपाल डुइङ विजिनेस सूचकाङ्कमा सुधार सम्बन्धमा यहाँ आयोजित सम्मेलनमा मन्त्री खतिवडाले सङ्घीयता खर्चिलो व्यवस्था भन्दै शङ्का उब्जाइएको अवस्थामा सफलता हासिल हुनु खुशीको कुरा भएको बताए।
‘हामीले सङ्घीयता कार्यान्वयनको दोस्रो वर्षमै यो सफलता हासिल हुनुमा सङ्क्रमणकाल छोट्याउनु र एक वर्षमै दर्जनौँ कानून बन्नु पनि हो’ उनले भने। यो सुधारले वित्तीय सङ्घीयता कार्यान्वयन गर्न प्रोत्साहित गरेको उनले बताए। उद्योग व्यवसायका लागि सडक पहुँच र बिजुली पुर्याएको, भन्सारका पूर्वाधारमा सुधार गरेको लगायतका कारण डुइङ बिजनेसमा नेपालको अवस्था सुधार भएको उनको भनाइ छ।
कार्यक्रममा विश्व बैंक समूहका देशीय निर्देशक फरिस एच हदाद जर्भोसले नेपालले डुइङ विजिनेसमा राम्रो सफलता हासिल गरेको र राम्रो कार्य सम्पादन गरेको तर यो यात्राको शुरुआत मात्र भएको बताए। उनले नेपाल सरकारसँग यस विषयमा सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गरे। ‘यो एउटा सुखद् समाचार हो तर पनि चुनौती अझै पनि रहेका छन्’ उनले भने।
प्रधानमन्त्री कार्यालयका सचिव शिशिरकुमार ढुङ्गानाले नेपालको स्थान सुधार हुनुमा प्रधानमन्त्री केपी शर्मा ओलीको समर्पण उल्लेखनीय रहेको बताए। मन्त्रिपरिषद्ले समन्वय गरेको तथा आफूहरु सूचकको ग्याप कहाँ छ भनेर पत्ता लगाउन र सुधारका एजेण्डा स्थापित गर्न सक्षम भएको उनले बताए।
कानूनमा सुधार धेरै भइसके पनि पुरानै कुरा हेरेर तर्क गर्ने र नकारात्मक कुराको प्रचारप्रसार गर्ने प्रवृत्ति रहेको उनले बताए। अहिलेको सफलताबाट अब विदेशी लगानी भित्र्याउन पनि सहज हुने उनको भनाइ छ।
कार्यक्रममा प्रधानमन्त्री कार्यालयका उपसचिव महेश भट्टराईले कार्यपत्र प्रस्तुत गर्दै सार्क राष्ट्रमा भारत र भुटानपछि मात्र नेपाल रहेको भए पनि सन्तुष्ट भएर नबस्ने बताए। एकीकृत भन्सार स्थापना हुनु, अदालती प्रक्रिया विश्वसनीय हुनु, भूमि प्रशासनमा सुधार हुनु र वानस्टप सेन्टर लागू हुनुले सुखद् परिणाम ल्याएको उनको भनाइ छ।
उद्योगी शेखर गोल्छाले नेपाल ११० स्थानबाट ९४ स्थानमा आउनु ठूलो उपलब्धि भएको बताउँदै अर्थमन्त्रीलाई बधाई दिए। “अब हामी लगानी भित्र्याउन सुध्रेको राष्ट्र भएका छौँ”, उनले भने। कार्यक्रममा विश्व बैंक समूहका प्रमुख निजी क्षेत्र विशेषज्ञ पिटर मुस्लेले नेपालको डुइङ विजिनेसमा उल्लेखनीय सुधार गरेकोमा खुशी व्यक्त गरे।
विश्व बैंकले बिहीबार प्रकाशित गरेको विश्वव्यापी डुइङ विजिनेस सूचाङ्क अर्थात् व्यापार व्यवसाय गर्ने वातावरणको सूचकाङ्कमा नेपाल अघिल्लो वर्षको ११० स्थानबाट ९४ स्थानमा उक्लेको प्रतिवेदन प्रकाशित गरेको थियो। सूचकाङ्कमा विश्वका १९० राष्ट्रको मूल्याङ्कन गरिएको थियो । नेपालले १०० पूर्णाङ्कमा ६३.२ अङ्क प्राप्त गरेको थियो। सूचकाङ्कमा सार्क राष्ट्रहरु श्रीलङ्का, बङ्गलादेश, पाकिस्तान नेपालभन्दा पछि नै रहेका छन्।


















