पोखरा(कास्की), ८ कात्तिक । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कास्की जिल्ला कमिटीले कास्की क्षेत्र नम्बर-२ मा हुने उपनिर्वाचनमा दिवंगत पर्यटनमन्त्री रवीन्द्र अधिकारीकी श्रीमती विद्या भट्टराईको नाम सिफारिस गरेको छ।
बिहीबार र शुक्रबार बसेको जिल्ला कमिटीको बैठकले भट्टराईको मात्रै नाम सर्वसम्मत सिफारिस गरेको नेकपा कास्की अध्यक्ष कृष्ण थापाले जानकारी दिए।
फागुन १५ गते हेलिकोप्टर दुर्घटनामापरि अधिकारीको निधन भएपछि प्रतिनिधिसभा सदस्यका लागि कास्की-२ मा उपनिर्वाचन हुँदैछ। नेकपाबाट स्व. अधिकारीकी पत्नी भट्टराईसहित सोमनाथ अधिकारी प्यासी, राजकाजी गुरुङ, श्रीनाथ बराल, भीम कार्कीलगायतको नाम चर्चामा थियो।
जिल्लाबाट सर्वसम्मत आएको नाम नै अन्तिम हुनसक्ने भएकाले अब नेकपाले भट्टराईलाई नै उम्मेदवार बनाउने निश्चितजस्तै छ।


















