Prakash Adhikari October 29, 2019

 

काठमाडौं, १२ कार्तिक । राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालेले छुट्टाछुट्टै रुपमा तिहार र नेपाल संवत् ११४० को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ।

तिहार र नेपाल संवतको नयाँ वर्षका अवसरमा चारै जनाले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको कामना व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीद्वारा जारी शुभकामना सन्देशमा नेपालको मौलिक परम्पराको रुपमा रहेको तिहार र मौलिक संवतको रुपमा रहेको नेपाल संवतले सबै नेपालीहरुमा सहिष्णुता, भाइचारा र आपसी सद्भाव अभिवृद्धि गर्न योगदान पुग्ने विश्वास लिएको उल्लेख छ । राष्ट्रपति भण्डारीले नेपाल संवत्को नयाँ वर्षले सबैमा नयाँ जोश, जाँगर, उत्साह र उमङ्ग थप्दै मुलुक र मुलुकवासीमा राष्ट्रिय एकता र समृद्धिको सन्देश दिन सकोस् भन्दै सबैमा हर्षोल्लासको कामनासहित हार्दिक शुभेच्छासमेत व्यक्त गर्नुभएको छ ।

त्यस्तै, उपराष्ट्रपति नन्दबहादुर पुनले दीपावली तथा नेपाल संवत्का अवसरमा सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । दीपावली र नेपाल संवत्का अवसरमा आज दिएको शुभकामना सन्देशमा उहाँले भन्नुभएको छ, “उज्यालो र उल्लासको पर्वको रुपमा मनाइने नेपालीहरुको महान् चाड शुभ–दीपावलीलाई स्वागत गरेर हर्षोल्लासका साथ मनाइँदैछ । नेपालको मौलिक संवत् नेपाल संवत्को नव वर्ष ११४० को सुखद् प्रारम्भ पनि यसै अवसरमा हुँदै छ ।”

उपराष्ट्रपतिले सन्देशमा महान् चाड शुभ–दीपावली र नेपालको मौलिक संवत् नेपाल संवत् नव वर्षले नेपालीहरुकाबीच आपसी सद्भाव, सहिष्णुता, भाइचारा र एकता अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप बलियो बनाउने बताउँदै यी पावन अवसरले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षालाई पूरा गर्दै समृद्ध नेपाल निर्माणको महाअभियानमा एकाकार भएर अगाडि बढ्न हामी सबैलाई प्रेरणा दिउन् भन्ने कामना गर्नुभएको छ।

त्यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको मौलिक परम्पराको रुपमा रहेको तिहार र आफ्नै मौलिक बार्षिक सम्बत्को रुपमा रहेको नेपाल संवतले नेपालीलाई एकताबद्ध हुन प्रेरणा प्रदान गर्ने बताउनुभएको छ । उहाँले तिहार र नेपाल संवत् ११४० को अवसरमा दिनुभएको शुभकामना सन्देश सो कुरा उल्लेख छ । उहाँले सन्देशमा नेपाल संवत् मौलिक संवत् भएको, नेपालबाट प्रचलनमा ल्याइएको र परोपकारका कामबाट शुरु गरिएको उल्लेख गरिएको छ । प्रधानमन्त्री ओलीले सन्देशमा भन्नुभएको छ, “नेपाल संवतले हामीलाई परोपकारतर्फ प्रेरित गरोस्, उज्यालो तर्फ जान प्रेरित गरोस् र यस चाडले हामी सबैको एकतालाई मजबुत बनाओस् ।”

नेपाल संवतका प्रवर्तक शङ्खधर शाख्वाको स्मरण गर्दै प्रधानमन्त्री ओलीले उहाँको योगदानको कदर गर्दै राष्ट्रिय विभूति घोषणा गरिएको उल्लेख गनुभएको छ।

शङ्खधर शाख्वाले गरीबहरुको ऋण मोचन गरिदिएको खुसीयालीमा यो संवत् शुरु गरेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले भन्नुभएको छ, “यसको शुरुवात जसरी विपन्नताविरुद्ध वर्गीय खाडललाई पुर्ने अभिप्रायबाट भएको हो, त्यही अभिप्रायलाई पछ्याउँदै हामीलाई विपन्नता र गरीबी विरुद्ध लड्न नेपाल संवत्को नयाँ वर्षले मद्दत पु¥याओस ।”

यसैगरी नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो शुभकामना सन्देशमा भन्नुभएको छ, नेपाल बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक, बहुभाषिक राष्ट्र हो । मौलिक भेषभूषा सहितका यिनै विविधता हाम्रो राष्ट्रिय पहिचान बनेका छन् । हामीमा निहित बन्धुत्व भावले विविधता बीचमा पनि अनुपम एकता कायम गरेको छ । तिहारले पनि हामी बीचको एकतालाई अझ मजबूत बनाएको छ । तिहार अर्थात यमपञ्चकका हरेक दिनले समस्त नेपालीहरुमा नयाँ उमंग सिर्जना गर्न, दिदीबहिनी र दाजुभाइबीच तथा आफन्तहरु बीचमा सुमधुर र सौहार्द सम्बन्ध विकसित गर्न सघाएको छ ।

उहाँले अन्धकार विनास गर्ने उज्यालोको यो चाडले नेपालको अभिशापका रुपमा रहेका सबै खालको अध्यारोमाथि विजय पाउने प्रेरणा दिन सकोस् भन्दै सबै नेपालीमा आशा, विश्वास, सत्कार्य र सकारात्मक भावनाको विकास गरी उज्यालोतिर अभिमुख गराउने विचार उत्पन्न गर्न सकोस् भन्दै शुभकामना दिनुभएको छ ।

नेपाल सम्वत ११४० को उपलक्षमा शुभकामना दिंदै उहाँले भन्नुभएको छ, वागमती सभ्यतालाई नेपालको भाषा, साहित्य, कला र संस्कृतिको उत्थान काल मानिन्छ । नेपाल सम्वत् त्यही जागरण कालको इतिहास र संस्कृतिको एक जीवन्त धरोहर हो ।
उहाँले आफ्नो शुभकामना सन्देशमा भन्नुभएको छ, नेपाल सम्वतको नयाँ दिनले हरेक वर्ष हामी सबैलाई यसका प्रणेता शंखधर साख्वाको योगदानलाई सम्झाउँछ । यसको प्रचलन तिनै समाजसेवी साख्वाले सबैको ऋण मोचन गरिदिएको अति परोपकारी कार्यको सम्झनामा भएको हो । शंखधर साख्वालाई उहाँको उदारताको कदर गरेर, हामीले राष्ट्रिय विभूतिको रुपमा सम्मान गरेका छौं ।

कांग्रेस सभापति देउवाले नेपाल विभिन्न भाषा, धर्म र संस्कृति भएको मुलुक रहेको स्मरण गराउदै एकअर्काको भाषा, धर्म र संस्कृतिको आदर र सम्मान गर्ने हाम्रो आफ्नै विशिष्ट र सौहार्दपूर्ण परम्परा रहेको बताउनुभएको छ । उहाँले सबै मिलेर यो परम्परालाई सधैं अक्षुण्य राखेर— हाम्रो पारस्परिक एकता र सद्भावलाई अगाडि बढाउन सक्यौं भने मात्र हाम्रो देश नेपाललाई शान्त, समृद्ध र समुन्नत नेपालमा रुपान्तरण गर्न सकिने विश्वास व्यक्त गर्नुभएको छ ।

Share Now

Leave a comment.