काठमाडौँ, १७ कार्तिक । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि सत्ताको नेतृत्वदायी पार्टी नेपाल कम्युनिष्ट पार्टीले आफ्ना उम्मेदवारहरुको नामको टुंगो लगाएको छ ।
आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले नेकपाका तर्फबाट निर्वाचनमा उठ्ने उम्मेदवारहरुको टुंगो लगाएको हो ।
नेकपाले प्रतिनिधिसभाका लागि कास्की २ बाट विद्या भट्टराई, दाङ क्षेत्र नम्बर ३ ‘ख’ बाट विमला वलीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
भट्टराई पूर्वमन्त्री रवीन्द्र अधिकारीको हुनुहुन्छ । अधिकारीको हेलिकप्टर दुर्घटना परी निधन भएको थियो। वली पूर्व प्रदेश सांसद उत्तरकुमार वलीको श्रीमति हुनुहुन्छ । सांसद उत्तरकुमारको गाडी दुर्घटनामा परी निधन भएको थियो।
यस्तै, भक्तपुरमा १ (क)मा देवीप्रसाद ढकाललाई उम्मेदवार बनाउने निर्णय भएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभएको छ ।
धरान उपमहानगरपालिकामा नेकपाले प्रकाश राईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।बाग्लुङमा भने नेकपाले राष्ट्रिय जनमोर्चा पार्टीलाई समर्थन गर्ने भएको छ।
मुख्यपदमा नेकपाले देहान्त भएका जनप्रतिनिधिका श्रीमतिहरुलाई उठाएकोले नेकपाभित्र कार्यकर्ताहरुलाई उचित न्याय गर्न नसकेको, सहानुभूतिको आधारमा भोट बटुल्न खोजेको र मैदानमा खटेर पार्टीका जनाधार बनाउने नेता तथा कार्यकर्ताको अवसरको अपहरण भएकोमा भित्रभित्रै असन्तुष्टी पनि फैलिएको छ ।
राजा महाराजा जस्तो परिवारभित्रै राजनीतिक उत्तराधिकारी चयन गर्ने र सेतो सारीका भरमा चुनाव जित्ने शैली नेकपामा आलोचित रहदै आएको छ ।


















