Prakash Adhikari November 5, 2019

काठमाडौं, ९ कार्तिक(रासस) ।राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रदेश प्रमुखलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ। राष्ट्रपति भवन, शीतलनिवासमा मंगलबार आयोजित विशेष समारोहमा उहाँले नवनियुक्त प्रदेश प्रमुखहरुलाई शपथ ग्रहण गराउनु भएको हो ।

मन्त्रीपरिषद्ले सोमनाथ अधिकारी ‘प्यासी’ (प्रदेश नं १), तिलक परियार (प्रदेश नं २), विष्णुप्रसाद प्रसाईँ (प्रदेश नं ३), अमिक शेरचन (गण्डकी प्रदेश), धर्मनाथ यादव (प्रदेश नं ५), गोविन्दप्रसाद कलौनी (कर्णाली प्रदेश) र शर्मिलाकुमारी पन्त (सुदूरपश्चिम प्रदेश) लाई प्रदेश प्रमुख नियुक्त गर्न सिफारिस गरेको थियो।

राष्ट्रपति भण्डारीले सोमबार नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख नियुक्त गर्नुभएको थियो । सो अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री, मन्त्री, सरकारका विशिष्ट श्रेणीका कर्मचारी, सुरक्षा निकायका प्रमुख लगायत उपस्थित हुनुहुन्थ्यो।

यसअघि राष्ट्रपतिबाट मन्त्रिपरिषद्को यही कात्तिक १७ गतेको निर्णयबाट सिफारिश भई आएअनुसार नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम सातै प्रदेशका प्रमुखहरुलाई पदमुक्त गर्नुभएको थियो।

प्रदेश प्रमुखहरु सपथपछि पद बहालीको तयारीमा रहनुभएको छ ।

Share Now

Leave a comment.