Prakash Adhikari November 22, 2019

पोखरा(कास्की),६ मंसिर । नेपाली कांग्रेस कास्कीको आयोजनामा शुक्रबार पोखरामा विशाल र्याली र चुनावी सभा आयोजना हुँदैछ ।

दिउँसो ४ बजे हुने र्‍याली पोखराको चिप्लेढुंगास्थित पार्टी कार्यालयबाट शुरु भइ पृथ्वीचोकमा पुगेर समापन हुने कास्की कांग्रेसले जनाएको छ ।

र्‍यालीमा पार्टीका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्रीद्वय डा. सशांक कोइराला र पूर्णबहादुर खड्का लगायत केन्द्रीय सदस्य, गण्डकी प्रदेशका काग्रेस नेताहरु सहभागी हुने जानकार िकास्की कांग्रेसका सभापति कृष्ण केसीले दिनुभएको छ ।

शुक्रबार नै कांग्रेसले विशाल चुनावीसभा गर्दैछ । सभालाई पार्टीका नेताहरू बालकृष्ण खाँड, गगन थापा, डा. मिनेन्द्र रिजाल, जीतजंग बस्नेत लगायतले संवोधन गर्ने कार्यक्रम छ ।

यस्तै कास्की क्षेत्र नं. २ का उम्मेदवार खेमराज पौडेलले जनताले बोकाइदिएको भारी सही ठाउँमा पुर्याएर बिसाउने बताउनुभएको छ ।
बिहीबार पोखरा–१६ मा आयोजित सभामा उनले आफूले जनताकै लागि ६० वर्ष राजनीति गरेको भन्दै अबको जिम्मेवारी पनि सफलतापूर्वक निर्वाह गर्ने बताउनुभयो ।

आफूलाई लोभ, लालसा र मोह केही नभएको उम्मेदवारको रुपमा प्रस्तुत गर्दै उहाँले देश र जनताको हितलाई सर्वोपरि राखेर काम गर्न आफू अग्रसर हुुनुपरेको बताउनुभयो ।

उक्त अवसरमा नेता धनराज गुरुङले त्यागी, इमान्दर र निष्ठावान व्यक्तित्व खेमराज गुरुलाई जिताउँदा पोखरेलीको इज्जत बढने बताउदै भन्नुभयो, ‘खेमराज गुरु सबैले सम्मान गर्न लायक व्यक्तित्व हुनुहुन्छ । उहाँ संस्कारी नेता पनि हो । धर्म संस्कारलाई उहाँले सधैं शिरमा राखेर हिंड्नु भएको छ । त्यसैले उहाँलाई विजय गराउनु पोखरेलीको कतव्र्य हो ।’

गण्डकी प्रदेशसभा सदस्य एवं पार्टीका चुनावी कमाण्डर कुमार खड्काले कांग्रेसको जीत सुनिश्चित भएको बताउदै कम्युनिष्टको रवैयाका कारण जनता वाक्कदिक्क भएको जनतालाई त्यसबाट मुक्त गराउन कांग्रेसले चुनाव जित्नै पर्ने आवश्यकता औल्याउनुभयो ।

कांग्रेसले एकसरो घरदैलो अभियान पूरा गरिसकेको छ ।अर्मलामा आयोजित घरदैलो कार्यक्रममा उम्मेदवार पौडेललाई साथ दिन नेता शेखर कोइराला पनि पुग्नुभएको थियो ।

Share Now

Leave a comment.