वासिंटन(संयुक्त राज्य अमेरिका), ९ मंसिर । नेपाली बाँसुरीवादक मनोसे सिंह विश्व संगीतको नोवेल पुरस्कार मानिने ग्राम्मी अवार्डको ६२ औं संस्करणको नोमिनेशनमा पर्न सफल हुनुभएको छ ।
बांसुरीवादक सिंह एल्बम देवका लागि नोमिनेसनमा पर्नुभएको हो ।
सो एल्बम सिंहसहित प्रशिद्ध जर्मन गायिका देव प्रिमल र उहाँका पति तथा बेलायती संगीतकार मिटेनको संयुक्त प्रयासमा निर्माण भएको थियो ।
ग्राम्मीको मनोनयनमा परेको एल्बम देव, उत्कृष्ट न्यु एज अल्बमको सूचीमा छनौट भएको हो ।
६२ औं ग्राम्मीको सो विधामा मनोनयनमा परेको सो एल्बमको गीत हिन्दुहरुको उत्कृष्ट भजन गायत्री मन्त्रसंग सम्बन्धित छ ।
गायत्री मन्त्रको भक्ति संगीत भएको सो एल्बममा नेपाली संगीतकर्मी सिंहले बांसुरीको उत्कृष्ट धुन दिनुभएको छ ।
बांसुरीको उत्कृष्ट धुन दिन माहिर सिंह हाल अमेरिकामा हुनुहुन्छ । बौद्ध निवासी सिंहले नेपालको चर्चित ब्याण्ड १९७४ एडीमा पनि काम गर्नुभएको थियो ।उहाँले आनी छोइङ डोल्मासंगपनि काम गर्नुभएको थियो ।
६२ औं ग्राम्मी अवार्ड सन २०२० को जनवरी २६ मा अमेरिकाको लस एञ्जलसमा हुंदैछ ।