Prakash Adhikari November 30, 2019

काठमाडौं, १४ मंसिर । तीन तहका रिक्त ५२ पदका लागि शनिबार भएको उपनिर्वाचन शान्तिपूर्ण ढंगबाट सम्पन्न भएको छ।

शनिबारको उपनिर्वाचनका क्रममा केही स्थानमा बम विष्फोटका छिटफुट घटनाबाहेक शान्तिपूर्ण रूपले मतदान सम्पन्न भएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए।

मतदानको पूर्णविवरण आउन बाँकी रहे पनि अधिकांश स्थानमा करिब ७० प्रतिशत मतदान भएको आयोगले जनाएको छ। बिहान सात बजेबाट सुरु भएको मतदान अहिले अपरान्ह पाँच बजे सम्पन्न भएको हो। केही मतदानस्थलमा भने मतदाता आउने क्रम जारी रहेकाले केहीबेरलाई मतदानको समय पर सारिएको छ।

३७ जिल्लामा भएको उपनिर्वाचनका क्रममा शनिबार कास्की र लमजुङका मतदानस्थलमा बम विष्फोट भएको थियो।

कास्कीको पोखरामा भने श्रृंखलाबद्ध रूपमा विभिन्न चारवटा मतदानस्थल नजिकै बम बिस्फोट भयो। उपनिर्वाचनालाई लक्षित गर्दै पोखरा ९ नयाँ बजारमा रहेको नवप्रभात मावि, पोखरा १६ स्थित शान्ति मावि, पोखरा– ३३ मा भरतपोखरीमा रहेको सरस्वती टिका मावि र पोखरा १६ को चण्डिका आधारभूत विद्यालय मतदानस्थल नजिकै बम बिस्फोट भएको हो।

बम विस्फोटबाट कुनै क्षति नभएको प्रहरीले जानकारी दिएको छ। बम विस्फोटपछि केही बेर मतदान स्थगित भएको थियो। बम विष्फोटपछि त्रासकै बीच पनि मतदाताले मतदान गरेका छन्।

कास्कीमा ६५ प्रतिशत मत खस्यो


कास्कीमा प्रतिनिधिसभा सदस्यको लागि शनिबार बिहान ७ बजेबाट साँझ ५ बजेसम्म भएको मतदानमा ६० देखि ६५ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ।

पोखरा महानगरका ११ वडा पर्ने कास्की २ मा ७१ हजार ८७१ जना मतदाता थिए। सबैठाउँको तथ्यांक नआइसकेको कार्यालयले जनाएको छ। यो तथ्यांक अघिल्लो प्रतिनिधिसभाको भन्दा कम हो। अघिल्लो निर्वाचनमा ४९ हजार मतदाता मतदानमा सहभागी भएका थिए। अझ यसपटक मतदाताको संख्या अध्यावधि गरेर बढेको थियो।

पोखरामा शनिबार भएको निर्वाचनमा केही ठाउँमा मतदाताले त्रासमा मत खसाले। यहाँको चारवटा मतदान केन्द्र नजिकै बम विस्फोट भयो। यद्यपी बम विस्फोट कसले गरायो भन्ने विषय अनुसन्धानकै क्रममा रहेको कास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिए। पोखरा ९ नयाँ बजारमा रहेको नवप्रभात मावि मतदानस्थल, पोखरा १६ वडा शान्ती माबी मतदानस्थल, पोखरा ३३ शान्ति उदय माध्यमिक विद्यालयको मतदानस्थल र पोखरा १६ चण्डिका मतदानस्थल नजिकै बम बिस्फोट भएको हो।

बम विस्फोटपछि केही बेर मतदान स्थगित भएको थियो। बम विस्फोट पछि प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको थियो । कास्कीमा प्रतिनिधी सभा सदस्यको लागि नेकपाबाट विद्या भट्टराई, नेपाली कांगे्रसबाट खेमराज पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोमबहादुर भण्डारी, संघीय समाजवादी पार्टीबाट धर्मराज गुरुङ, साझा पार्टीबाट रजनी केसी, विवेकशील नेपाली दलबाट जमुना शर्मा उम्मेदवार छन्। त्यस्तै नेकपा मालेका टेकनाथ भण्डारी, नेपाली कांग्रेस (बिपी)बाट चन्द्रबहादुर रानाभाट, राष्ट्रिय जनमुक्ति पार्टीका तर्फबाट पूर्णबहादुर राना, देशभक्त समाजका तर्फबाट वीरबहादुर विश्वकर्मा, राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तका गंगा मल्ल, मंगोल नेसनल अर्गनाइजेसनबाट रियाज गुरुङले उम्मेद्वारी दिएका छन्। मतपेटीका कास्कीको बैदाममा रहेको जिल्ला समन्वय समितिको भवनमा ल्याइनेछ।

साँझ ८ बजेभित्र मतपेटीका गणनास्थल ल्याइपुर्‍याउने तयारी भएको छ। त्यस लगत्तै सर्वदलिय बैठक बस्ने र गणना आजै राती गर्ने या भोलि बिहानबाट गर्ने टुंगो लाग्ने निर्वाचन कार्यालयले जानकारी दिएको छ।

दाङमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न

दाङमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ। जिल्लाका दुई स्थानमा भएको उपनिर्वाचन शान्तिपूर्ण भएको हो। उपनिर्वाचनमा एक प्रदेशसभा सदस्य र वडाध्यक्ष पदका लागि आज मतदान भएको थियो।

जिल्ला निर्वाचन कार्यालय दाङका अनुसार प्रदेशसभा सदस्यका लागि भएको मतदानमा ६६.५३ प्रतिशत मत खसेको छ। निर्वाचन कार्यालय दाङका अनुसार ६८ हजार सात सय १९ मतदाता मध्य ४५ हजार सात सय १८ मतदान भएको छ। जसमा २० हजार १ सय २८ पुरुष र २५ हजार ५ सय ९० जना महिलाहरुले मतदान गरेका जिल्ला निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिएका छन्।

त्यस्तै स्थानीय तह अन्तर्गत घोराही उपमहानगरपालिका वडा नं. १६ मा ७२.४४ मतदान भएको छ। जिल्ला निर्वाचन कार्यालय दाङका अनुसार ४ हजार ४ सय ५३ मतदाता मध्य वडामा ३ हजार २ सय २६ मतदान भएको छ। जसमा एक हजार ८ सय ८ महिला र एक हजार ४ सय १८ जना महिलाहरुले मतदान गरेको सूचना अधिकारी कुँवरले जानकारी दिएका छन्।

उपनिर्वाचन अन्तर्गत निर्वाचन क्षेत्र नं. ३ (ख) का ३२ मतदानस्थलका ७७ वटा केन्द्र तोकिएका थिए भने घोराही १६ मा २ मतदान स्थलमा ५ केन्द्र रहेका थिए। दाङमा प्रदेशसभा सदस्य पदमा १४ जना र वडा अध्यक्ष पदमा ७ जना गरी २१ चुनावी प्रतिष्पर्धामा छन्।

निर्वाचन सकिएपछि अहिले मतपेटिकाहरु मतदान केन्द्रबाट घोराही ल्याउने काम भैरहेको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिएका छन्। उनका अनुसार घोराही उपमहानगरपालिका वडा नं. १६ को मतगणना आजै सुरु गर्ने तयारी गरिरहेको मुख्य निर्वाचन अधिकृत थापाले जानकारी दिए।

Share Now

Leave a comment.