Prakash Adhikari November 30, 2019

काठमाडौं, १४ मंसिर दक्षिण एसियाली खेलकुद(साग)मा नेपाली महिला भलिबल टीमले रजत पदक पक्का गर्दै स्वर्णको लागि प्रतिस्पर्धा गर्ने भएको छ ।

शनिबार राति भएको सेमिफाइनलमा श्रीलंकालाई ३-० को सेटमा पराजित गर्दै नेपाली चेलीहरुले रजत पदक पक्का गरेका हुन्।

यसअघि सागका तीन संस्करणमा सहभागिता जनाएको नेपाली महिला टोली काँस्य पदकमै सीमित रहेको थियो। यसअघि नेपालले १९९९, २००६ र २०१६ मा नेपाल काँस्यमै सीमित थियो।

नेपालले बलियो प्रतिद्वन्द्वी मानिएको श्रीलंकालाई नेपालले पहिलो सेटमा २५–१४, दोस्रो सेटमा २५–१८ र तेस्रो सेटमा २५-२३ ले पराजित गर्‍यो।

योसँगै नेपाल उपाधिका लागि भारतसँग भिड्ने भएको छ। भारत पहिलो सेमिफाइनलमा माल्दिभ्सलाई ३–०को सोझो सेटमा पराजित गर्दै उपाधि नजिक पुगेको हो। भारतले मालदिभ्सलाई २५–१४, २५–६, २५–१७ मा हराएको हो।

यसअघि समूह चरणको खेलमा नेपाल भारतसँग ३-० को सेटमा नै पराजित भएको थियो।


मंगलबार हुने फाइनल खेलमा नेपाल समूह चरणको बदला लिने दाउमा हुनेछ।

गत कार्तिक २८ गते बंगलादेशमा भएको एसियन भलिबल फेडेरेसन (एभिसी) सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको उपाधि जितेको नेपाली महिला टोली उच्च मनोबलका साथ सागमा सहभागिता जनाएको थियो।

यसअघि सन् २०१४ मा घरेलु मैदानमै भएको दक्षिण एसियाली आमन्त्रण महिला भलिबल च्याम्पिनसिपमा नेपाली चेलीले रजत दिलाएका थिए।

१३औं सागको तयारीका लागि नेपाली महिला भलिबल टोलीले तीन साता लामो थाइल्याण्डमा प्रशिक्षण समेत गरेको थियो। थाइल्याण्डमा ७ वटा मैत्रीपूर्ण खेल खेलेको टोलीले ४ खेल जितेको थियो। यसपटक ४ महिनाको तयारी पाएपछि भलिबल टोलीबाट नतिजा पनि राम्रो आउने अपेक्षा गरिएको थियो।

नेपाली महिला टोली

अरुणा शाही (कप्तान), प्रतिभा माली, सरस्वती चौधरी, रेश्मा भण्डारी, निरुता ठगुन्ना, जानकी भण्डारी, सोफिया पुन, उषा विष्ट, सुनिता खड्का, कमला पुन, पुनम चन्द र सलिना श्रेष्ठ जगदिश भट्ट (मुख्य प्रशिक्षक), सलिना श्रेष्ठ (प्रशिक्षक), भरत यादव (प्रशिक्षक) र रीता कोइराला )व्यवस्थापक) ।

Share Now

Leave a comment.