Prakash Adhikari December 5, 2019

 

काठमाडौं, १९ मंसिर । एपिण्डिसाइटिसको शल्यक्रिया सम्पन्न गरेर स्वास्थ्य लाभ गरेपछि प्रधानमन्त्री के पी शर्मा ओली बिहिबार अपरान्ह मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरबाट डिस्चार्ज भएर आफ्नो सरकारी निवास बालुवाटार फर्कनुभएको छ ।

प्रधानमन्त्रीको स्वास्थ्य परीक्षण, सल्यक्रिया, एपेण्डिसाइटिस, डायलासिस, मिनि डायलासिस र प्रधानमन्त्री भेन्टिलेरमा रहेको,बाहिर निकालिएको, बोल्न थाल्नुभएको, झोल र ठोस खाना खानुभएको, सामाजिक सञ्जालमा सक्रिय हुनुभएको, सञ्चो भएको सन्देश पठाउनुभएको जस्ता समाचार छाप्दै आएका नेपाली सञ्चारमाध्यमले आजदेखि प्रधानमन्त्री राजपाठमा सक्रिय भएको समाचार प्रकाशन र प्रशारण गर्न पाउने भएका छन् ।

चिकित्सकहरुले बिहिबार दिउँसो ३ बजे प्रधानमन्त्रीलाई डिस्चार्ज गर्ने निर्णय लिए पछि राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्रीलाई भेट्न शिक्षण परिसर पुग्नुभएको थियो। प्रधानमन्त्रीको एपेण्डिसाईटिसको शल्यक्रिया गरिएपछि उहाँलाई भेट्न दोस्रो पटक महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर पुग्नुभएकी राष्ट्पति भण्डारीले प्रधानमन्त्रीसंग करिब आधा घण्टा कुराकानी गर्नुभएको थियो ।

मंसिर ९ गते सोमबारदेखि प्रधानमन्त्री ओलीको पेटमा असैह्य दुखाई भएपछि उहाँलाई मंसिर १० गते मंगलबार बिहान उपचारार्थ मनमोहन कार्डियो भास्कुलर थोरासिस एण्ड ट्रान्स्प्लान्ट सेन्टरमा भर्ना गरिएको थियो । स्वास्थ्य परीक्षणमा उहाँको एपेन्डिक्स फुटेको देखिएपछि उहाँको अपर्झट शल्यक्रिया गरिएको थियो ।

शल्यक्रिया पछि भेन्टिलेटरमा राखिनुभएका प्रधानमन्त्री ओलीको स्वास्थ्यमा चमत्कारिक सुधार भई १० औं दिनमा उहाँ अस्पतालबाट डिस्चार्ज हुनुभएको हो । उहाँले अस्पतालबाट बाहिरिँदै गर्दा आफू स्वस्थ भएर फर्किएको प्रतिक्रिया दिनुभएको थियो ।

चिकित्सक डा. अरुण शायमीले प्रधानमन्त्रीको एपेन्डिक्सको उपचार सफल भएको बताउनुभएको थियो ।

मृगौलाका नियमित बिरामी प्रधानमन्त्री ओलीले १० दिन अस्पतालको बसाईका क्रममा आवश्यकता अनुसार डायलासिस पनि गर्नुभएको थियो ।

१२ बर्ष अगाडि दुवै मृगौलाले काम गर्न नसक्नेभएपछि भारतमा उहाँको मृगौलाको प्रत्यारोपण गरिएको थियो ।

प्रत्यारोपित मृगौलाले अपेक्षित काम नगरेपछि गत साउन महिनादेखि प्रधानमन्त्री ओली मृगौलाको सघन उपचारमा हुनुहुन्छ । उहाँलाई साउन र भाद्र महिनामा सिंगापुरको नेशनल युनिभर्सिटी अस्पतालमा भर्ना गरेर उपचार गरिएको थियो ।

भाद्र महिनामा ४ हप्ता लगाएर उहाँको प्लाज्माफेरोसिस विधिबाट शरीरमा बढेको एण्टिबडीलाई नियन्त्रित मात्रामा ल्याइएको थियो ।

सिंगापुरको उपचारपछि उहाँको फलोअप उपचार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज र धापासीस्थित ग्राण्डी अस्पतालमा गरिएको थियो ।

उहाँको स्वास्थोपचारमा संलग्न चिकित्सकहरुले उपयुक्त समयमा उहाँको मृगौलाको पुन प्रत्यारोपण गर्न सल्लाह दिएका छन् । सो प्रयोजनको लागि मृगौला दान दिन इच्छुक उहाँका आफन्तहरुको मृगौलाको परीक्षण समेत भैसकेको बताइएको छ ।

Share Now

Leave a comment.