Prakash Adhikari December 5, 2019

 

पोखरा(कास्की),१९ मंसिर । नेपाल १३ औं दक्षिण एसियाली खेलकुद (साग)को महिला फुटबलमा नेपाल फाइनल प्रवेश गरेको छ ।

बिहिबार पोखरा रंगशालामा भएको नेपाल र माल्दिभ्सबीचको खेलमा नेपाली खेलाडी सावित्रा भण्डारी ‘साम्बा’ले ह्याट्रिक गर्दै नेपाललाई फाइनल प्रवेश गराएकी हुन । खेलमा नेपालले माल्दिभ्सलाई ३-० ले जितेको थियो ।

तर नेपालले स्वर्णका लागि भारतसँग प्रतिस्पर्धामा उत्रिनु अघि उसैसँग समूह चरणको अन्तिम खेल खेल्नेछ ।

पोखरा रंगशालामा भएको खेलमा नेपालले १६ औं मिनेटमा सावित्राको गोलबाट अग्रता लिएको थियो । अनिता बस्नेतको पासमा उनले हेडबाट सुन्दर गोल गरेकी थिइन् । त्यसको ४ मिनेटपछि नै सावित्राले अर्को गोल गरेर नेपालको अग्रता दोब्बर पारिन् ।

खेलको इन्जुरी टाइम (९१ मिनेट) मा सावित्रालाई डिबक्सभित्र लडाएपछि नेपालले पेनाल्टी पायो, जसमा उनैले गोल गर्दै १३ औं सागमा ह्याट्रिक पूरा गरिन् ।

माल्दिभ्सविरुद्ध ह्याट्रिक गरेकी सावित्राले नेपालका लागि सर्वाधिक गोलको कीर्तिमान बनाएकी छिन् ।

उनले नेपालका लागि ३८ गोल गरेकी हुन् । बिहीबार गोल गर्नेबित्तिकै उनले अनु लामाको ३५ गोलको कीर्तिमान तोडेकी थिइन् ।

राउन्ड रोबिन आधारमा भइरहेको प्रतियोगितामा नेपाल र भारतको समान ६/६ भएको छ । दुवै टिमले श्रीलंका र माल्दिभ्सलाई नै हराएका छन् र समूह चरणको अन्तिम खेल अगाडि नै फाइनलमा स्थान पक्का गरेका छन् ।

तर, फाइनल अघि शनिबार समूह चरणको अन्तिम खेलमा नेपाल र भारत भिड्ने छन् । श्रीलंका र माल्दिभ्स जितविहीन भएकाले समूह चरणको अन्तिम खेलमा जसले जिते पनि दुवै टिम फाइनलमा पुग्ने पक्का गरेका हुन् ।

Share Now

Leave a comment.